१७ माघ, काठमाण्डौ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । प्रधानन्यायाधीशवाट आफ्नो ज्यानमा खतरा भएकाले सुरक्षा माग्दै बुधबार बिहान सिडिओ कार्यालय गएर भण्डारीले निवेदन गरेका हुन् ।
डाक्टर गोविन्द केसीले प्रधान्यायाधीश पराजुलीबारे प्रश्न उठाएपछी अदालतले लगाएको अवहेलना मुद्दामा वहस पैरवी गरेकोमा प्रतिशोध साँधेर आफूमाथि बेला-बेलामा धम्की आएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन् । बुधवार बिहान जिल्ला प्रशासनमा जिउ-ज्यानको सुरक्षा माग्दै आफूले निवेदन दिएको भण्डारीले जानकारी दिए । सर्वोच्च अदालतले डाक्टर केसीलाई अदालतको अवहेलना मुद्दा लगाएपछि भण्डारीले केसीको मुख्य वकिलको रूपमा बहस गरेका थिए ।
बहस सकिएकै दिन पुस २६ गते साँझ ५: ३० बजे पराजुलीले फोन गरेर ‘म तपाईलाई मार्दिन्छु’ भन्दै धम्क्याएको भण्डारीले बताए । गत बिहिबार आफूले लेखेको लेख नागरिकमा छापिएपछि पनि पराजुलीले फोन गरेर धम्क्याएको भण्डारीले बताए ।