धनगढी । बैतडीमा हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको घडी भेटिएको छ । भागरथीको हत्या अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टले देखाएकै स्थानमा बिहीबार घडी भेटिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भागरथीको शव भेटिएको केही पर उनको घडी भेटिएको जानकारी दिए । ‘अभियुक्तले देखाएकै ठाउँमा भागरथीको घडी भेटिएको हो’ सिंहले भने,‘प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले उक्त घडी भेटाएको छ ।’
गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लबलेक सामुदायिक वनमा फेला परेकी थिइन् ।
हत्या भएको दुई हप्तापछि प्रहरीले मंगलबार भागरथीकै भाइ नाता पर्ने दिनेशलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको थियो । बयानका क्रममा अभियुक्तले भागरथीको हत्या गरेको स्वीकार गरेपनि बलात्कारको आरोप भने अस्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले अभियुक्त सार्वजनिक गरेपनि आफन्तले भागरथीको शव अझैं बुझेका छैनन् । भागरथीको बलात्कार र हत्या दुबै दिनेशले मात्र गरेको भन्नेमा परिवार विश्वस्त छैनन् ।