८ पुस २०८१, सोमबार

५ वर्षपछि खुल्यो रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर


बालगोपालेश्वर

काठमाडौँ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि तिहारमा पहिलो पटक खुलेको हो ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । पाँच वर्षपछि खुलेको बालगोपालेश्वरमा आज भक्तजनको भीड लागेको थियो ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

यस वर्ष मङ्गलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदैछन् । यही मङ्सिर २ गते पनि भाइटीका (किजापूजा) का लागि सरकारले सार्वजनिक बिदा दिएको छ ।

बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म खुल्ने जनाइएको छ । कोरोना महामारीका कारण देशभर विगत वर्षमा जसरी भाइटीका लगाउन भने मानिसलाई बाधा पुगेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !