२ मंसिर २०८१, आइतबार

भारत छिर्दै नेपाली– रोगको डरले आए, बेरोजगारीको चिन्ताले फर्कँदैछन्


महेन्द्रनगर, २ असोज । साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा हुनुहुन्छ ।

धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि रु डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा राजेन्द्र डगौंरालाई साउदी अरब पठाएका सीतरामको सपना कोरोना कहरसँगै तुहिएको छ । “छोराले विदेशमा कमाएर एउटा ओतबस्ने घरसम्म त बनाउँला भन्ने सोचेको थिएँ” सीतारामले दुखेसो पोख्दै भन्नुभयो– “छोरो केही दिनअघि रित्तो हात घर फर्कियो, अब दैनिक जिवीकाको त कुरै भएन ऋण कसरी तिर्ने भन्ने भएको छ ।” सीताराम पनि पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया काम गरेर केही वर्षअघि फर्किनुभएको थियो ।

“छोरा कमाउला र म घरको रेखदेख गरौँला भन्ने सोचेर बसिरहेको थिएँ” उहाँले भन्नुभयो– “बरु अब यहीँ केही काम पाइन्छ कि भनेर खोज्नुपर्ने भएको छ, तर हामीलाई रोजगारी पनि कसले देला र ?” उहाँले दैनिकी चलाउन गाउँमा मजदुरी पाउन समेत गाह्रो भइरहेको बताउनुभयो । “आफूसँग भएको जग्गामा केही आयमूलक व्यवसाय गरौँ छाडा गोरुले सखाप पार्छन्” उहाँले भन्नुभयो–“मजदुरी गर्न भारत जाऔँ त्यहाँ कोरोना बढेको समाचार दिनदिनै सुन्दा जानै मन लाग्दैन, मनभरि डर मात्र छ ।” उहाँको पाँच जनाको परिवार छ । उनीहरुलाई खर्च जुटाउन पनि जारी बन्दाबन्दीका कारण निकै नै समस्या भइरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिका–३ देखतभुलीका जितसिंह बडायकको परिवार पनि यतिबेला आर्थिक समस्याले ग्रसित छ । रोजगारी गर्ने छोरो घरमा थन्किएर कामविहीन रुपमा बस्नु परेपछि चिन्ता र तनाव बढेको छ ।
“म भारतको गुजरातमा होटलमा मजदुरी गर्न थालेको ८ वर्ष भयो” कोरोनाको डरले दुई महिनाअघि घर फर्किएका बडायकले भन्नुभयो–“ अहिले यहाँ घरमा साबुन किन्ने खर्च समेत छैन, सरकार साबुन पानीले हात धुनु भन्छ त्यही साबुन कसरी जुटाउने भन्नेसम्मको समस्या आएको छ ।”

होटलमा मजदुरी गरेर मासिक रु २५ हजार कमाउने गरेका बडाउकले गाउँ फर्किएपछि बेरोजगारी फारम भरे पनि कुनै कार्यक्रम नआएको बताउनुभयो । “स्थानीय तहले बेरोजगार फारम भर्न त लगायो तर रोजगारी दिने कुनै छाँट देखिएन” उहाँले भन्नुभयो–“अब रोगसँग डराएर मात्र के गर्नु, पेट भर्नैपर्यो, फेरी भारत जानुपर्ने बाध्यता नजिक आउँदै छ ।”

होटल बन्द भएपछि केही समय भारतमा बेरोजगार बसेका बडायक नेपाल–भारत सीमा खुल्ला भएपछि घर फर्किनुभएको हो । “दश जनाको परिवार छ कमाउने कोही छैन” उहाँले भन्नुभयो–“म कामविहीन हुँदा घरका अरु सदस्य पनि खर्च कहाँबाट चलाउने भनेर चिन्तामा छन् ।” कोरोनाको डरले आफू तीन वर्ष पछि भारतबाट फर्किएको उहाँको भनाई छ । “कमाएर ल्याएको सकिसक्यो । फेरि भारत जाने विचारमा छु” उहाँले भन्नुभयो–“ न हातमा त सीप छ नत यहाँ केही गर्न लगानी नै ।”

पछिल्लो समय बेरोजगारी चिन्ताले रोगको प्रवाह नगरी कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सयौँ नेपाली रोजगारीका लागि भारत गइरहेका छन् । “कोरोनाको डरले कुनै बेला गड्डाचौकी नाकाबाट एकै दिन २० हजार भन्दा बढी नेपालीहरु स्वदेश फर्किएको रेकर्ड थियो” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो–“अहिले दैनिक ६ देखि ७ सय नेपाली मजदुरीका लागि भारत पस्दैछन् ।”

कोरोना सङ्क्रमणबाट भारतमा दैनिक दशौँ हजार जना सङ्क्रमित भएका र सयौँको मृत्यु भइरहेको खबर सुन्दा पनि नेपालीहरु त्यसको प्रवाह नगरी मजदुरीका लागि भारत जान थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौ हजार जनालाई तत्काल स्वरोजगार बनाउन आवदेन लिइको छ । मन्त्रालयले कृषि तथा पशुपंछी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई यही असोज ६ गतेसम्म आवेदन दिन भनिएको छ । कञ्चनपुरमा पनि सबै स्थानीय तह र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रले आवेदन लिइरहेको छ ।

कृषि र भेटेरिनरीमा गरी झण्डै एक हजार युवाले आवेदन दिइसकेका छन् । मन्त्रालयले हालै जारी सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा बाख्रापालन, बंगुरपालन, फलफूल खेती, गाईभैँसीपालन, माछापालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पंछीपालन, नर्सरी तथा पुष्प व्यवसाय तथा अन्य गरी १० फरक कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य रहेको जनाएको छ ।

यहाँको बेल्डाँडी गाउँपालिका–५ इमलिया ३३ बर्षीया बाबुराम गिरी पनि भारतमा आफू कार्यरत कम्पनी बन्द भएपछि घर फर्किएका छन् । “भारतको पञ्जावमा कुखुरा फार्ममा नौ महिना काम गरेँ” केही समयअघि घर फर्किएका गिरीले भन्नुभयो–“ घरमा कमाउने ममात्रै हुँ अब महेन्द्रनगरतिर काम खोज्न जाने सोचमा छु ।”

उहाँले भारत मजदुरीका लागि जानुअघि आफू जेसिबी चलाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो–“ कोरोनाले भारतमा कम्पनी नै बन्द भएपछि घर फर्किनु परेको हो ।” प्रदेश सरकार र स्थानीय तहहरुले पनि कोरोना प्रभावितहरुलाई स्वरोजगार बनाउने बताइरहेका बारेमा उहाँले आफूलाई केही थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले कार्यक्रमहरु दिइसकेका छैनन् तर आफूलाई यहाँ घर चलाउनै मुस्किल हुन लागिसक्यो ।”

मुग्लान पस्नेहरु पनि तनावमै
कोरोना कहरका बेला बेरोजगार भएर घरमा बस्नेहरु जस्तै बाध्यताले मुग्लान पस्नेहरु पनि यहाँ तनावकैबीच घर छाडिरहेका छन् । कोरोना भाइरस सङ्क्रमणको चिन्ताले गत चैत वैशाखमा स्वदेश फर्किनेहरु अहिले कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाहरु दैनिक झोला गुन्टा बोकेर मजदुरी गर्न भारत गइरहेका छन् ।

भारतमा दैनिक करिब एक लाखको सङ्ख्यामा सङ्क्रमित थपिनुका साथै दिनमा सयौँको यसै सङ्क्रमणबाट मृत्यु भइरहेको खबर आइरहेका बाध्य भएर नेपालीहरु मजदुरीका लागि भारत गइरहेको बताउँछन् । सुदूरपश्चिम प्रदेशको रोजगारीको प्रमुख गन्तव्य रहेको भारतबाट लकडाउन अवधीमा झण्डै डेढ लाख मानिस स्वदेश फर्किएको तथ्याङ्क छ । स्वदेशमा स्वरोजगारका लागि कुनै योजना नहुनुका साथै आफूहरुको परिवारमा रोगभन्दा पनि भोकले मर्ने अवस्था आएपछि भारत जानुको विकल्प नरहेको मुग्लान जानेहरुको भनाई छ ।

लामो समय लकडाउन हुँदा बिहान बेलुका हातमुख जोर्न पनि समस्या हुन थालेपछि बाध्य भएर भारत जान लागेको भीमदत्तनगरपालिका–१३ का सन्त सुनारले बताउनुभयो । “सरकारले घरमै बसेर सुरक्षित रहनुस भन्छ तर हामीसँग छाक टार्ने अन्न नै छैन, अब के खाएर बाँच्नु ?” लालाबालासहित गड्डाचौकीबाट भारत जान लागेका सुनारले भन्नुभयो–“यतिखेर महामारी छ र हामी सर्वसाधारणहरुका लागि झन् ठूलो कष्ट छ, यस्तो समयमा जाने कि नजाने भन्ने दुविधा भए पनि आखिर जानैपर्ने हाम्रा् बाध्यता हो ।” उहाँले स्वरोजगारको व्यवस्था नभएकाले धेरै स्थानीयहरु विदेशिन बाध्य रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गौरीफन्टा र गड्डौकी नाकाबाट गरी दैनिकम ५ देखि ६ सय नेपाली भारत रोजगारीका लागि जान थालेको जनाएको छ ।

“आधार कार्ड र रासन कार्ड भएका र भारतीय कम्पनीले पनि प्रक्रिया पु¥याएर नेपालीहरुलाई भारत लगिरहेको छ” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो–“पछिल्ला दिनहरुमा यी दुई नाकाबाट भारत जानेहरु बढिरहेका छन् ।”

“भारत कोरोनाको चपेटमा राम्ररी परेको समचार त सुन्यौँ तर के गर्नु हामीलाई त्यतै जानुपर्ने पनि बाध्यता आइलाग्यो” यहाँको कृष्णपुर नगरपालिका–२ का बेलुराम चौधरीले दुखेसो पोख्दै भन्नुभयो–“रोगले भन्दा भोकले मर्ने स्थिति आउनुभन्दा जेसुकै पर्ला भनेर मजदुरीका लागि हिडेको हुँ ।”

उहाँले लकडाउनमा परिवार पाल्न निकै नै समस्या भएकाले भारत जान लागेको जानकारी दिनुभयो । “चैतमा कोरोना त्रासले घरबाट फोन गरेर बोलाएर आइहालेँ” उहाँले भन्नुभयो–“भारतमा मजदुरी गरेन भने परिवार पाल्नै मुस्किल पर्छ ।”

सुदूरपश्चिम प्रदेश सरकारले नौ हजार जनालाई स्वरोजगार तथा रोजगारी दिने योजना बनाए पनि भारत जाने क्रम चलिरहेकै छ । यही क्रममा गड्डाचौकी नाका हुँदै भारत गइरहेका भीमदत्तनगरपालिका–१३ का इन्द्र सुनारले पनि आफू बाध्यताले परिवारसहित भारत जान लागेको बताउनुभयो । “धेरै समय महाकाली नदीमा बालुवा छानेर पनि परिवारको खर्च चलाएँ” सुनारले भन्नुभयो–“पाँच वर्षदेखि भारत गएर मजदुरी गर्दैछु ।” उहाँले पनि स्वदेशमा रोजगारीका अवसर नहुँदा विपत्का बेला पनि मुलुक छोडुन परेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले महिना दिनयता मजदुरका लागि गड्डाचौकी र गौरीफन्टा नाकाबाट भारत जाने क्रम चलिरहेको बताउनुभयो । “दुवै नाकाबाट गरेर दैनिक ५ देखि ६ सय नेपालीहरु भारत जाँदैछन्” उहाँले भन्नुभयो–“उनीहरु यस्तो अवस्थामा पनि किन जान लागेको भन्दा मजदुरी गर्नकै लागि जान लागेको भन्नेहरु नै अधिकांश छन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !