१२ आश्विन २०८१, शनिबार

नेपालको जनसंख्या ३ करोड नाघ्यो


केन्द्रीय तथ्याङ्क विभाग

काठमाडौँ, १२ असार । नेपालको जनसंख्या आजदेखि औपचारिक रुपमा ३ करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ ।

विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ पुगेको जनाएको हो ।

राष्ट्रिय जनगणना, २०६८ को नतिजा अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । आगामी वर्ष १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ हुँदैछ । विभागले त्यससम्बन्धी कार्यतालिका स्वीकृत गरिसकेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा गत साता सम्पन्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो ।

कार्यतालिका अनुसार यही असार १५ गतेदेखि जनगणनाको प्रश्नावली तयारी थालेर स्थानीय तहअनुसार जनगणनाको तालीम, तथ्याङ्क प्रशोधन केन्द्रको तयारी, ‘अनलाइन’ मार्फत गणक तथा सुपरीवेक्षकको आवेदन, उनीहरूलाई तालीम, जनगणनाको सामग्री जिल्ला-जिल्ला पठाउने, प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना, प्रारम्भिक तथा अन्तिम नतिजा र २०८० वैशाखभित्र विषयगत प्रतिवेदन सार्वजनिक गर्ने लक्ष्य निर्धारण गरिएको छ । विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !