१२ आश्विन २०८१, शनिबार

वृक्षरोपण र जडीबुटीमा जोड


वृक्षरोपण

घोराही,१० असार । डिभिजन वन कार्यालय दाङले वनलाई नागरिकको जीवनस्तरसँग जोड्न जडिबुटी खेती अगाडि बढाएको छ । कार्यालयले चालु आवमा मातहतका तीन नर्सरीबाट करीब साढे दुई लाख बिरुवा उत्पादन गरेको छ । तिनमा एक लाख टिमुर र २० हजार सुगन्ध कोकिलाका बिरुवा उत्पादन भएका छन् । बोटविरुवालाई नागरिकको आम्दानीसँग प्रत्यक्ष जोड्नका लागि जडीबुटीका बिरुवालाई प्राथमिकता दिएर उत्पादन गरिएको कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभयो ।

‘अघिल्ला वर्षमा काष्ठ उत्पादनका लागि बिरुवा वितरण हुन्थे तर त्यसबाट आम्दानी पाउन दशौँ वर्ष कुर्नुपर्ने बाध्यता थियो ’, उहाँले भन्नुभयो, ‘उन्नत जातका टिमुर, मालागेडी, तेजपात, अमला, कुरिलो जस्ता बिरुवा वितरण गरेमा नागरिकले दुई तीन वर्षभित्रै आम्दानी पाउन शुरु गर्छन् । बजारको पनि समस्या छैन ।’ उहाँले आगामी वर्ष पनि सरकारको नीतिअनुरुप नै नागरिकको जीवनस्तर उकास्न जडीबुटीलाई प्राथमिकता दिएर उत्पादन र वितरण गरिने बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको घोराही उपमहानगरका पहाडी वडा १८ र १९ तथा तुलसीपुरका वडा नम्वर ३ र १९ लाई एवम् दाङको पहाडी क्षेत्रमा पर्ने बङ्गलाचुली गाउँपालिकामा टिमुर र सुगन्ध कोकिलाको पकेट क्षेत्र तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !