१२ पुस २०८१, शुक्रबार

टर्कीद्वारा अन्तर्राष्ट्रिय उडान शुरु


टर्कीद्वारा अन्तर्राष्ट्रिय उडान शुरु

अंकारा, २९ जेठ । कोरोना भाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको छ । टर्कीस एयरलाइन्सद्वारा प्रबद्र्धित अनादोलु जेटको एउटा बिमान इस्तानबुलको सबिहा गोक्सेन बिमानस्थलबाट लन्डनका लागि स्थानीय समयअनुसार बिहान ८.४० बजे प्रस्थान गरेको छ ।

त्यसलगत्तै नेदरल्याण्ड्सको आम्सटर्डम र जर्मनीको डुसेलडोर्फका लागि पनि बिमानहरु प्रस्थान गरेको टर्कीका अधिकारीहरुले बताएका छन् । यसैबीच, टर्कीस एयरलाइन्सको अर्को बिमान इस्तानबुल विमानस्थलबाट जर्मनीको डुसेलडोर्फका लागि प्रस्थान गरेको छ । यी बिमानमा सम्बन्धित मुलुकका नागरिक वा ती मुलुकमा बस्नका लागि अनुमतिप्राप्त व्यक्तिलाई मात्र यात्रा गर्न दिइएको छ ।

बिमानस्थलमा प्रवेशका लागि निकै कडा नियमहरु जारी गरिएको बिमानस्थलका अधिकारीहरुले बताएका छन् । प्रत्येक यात्रुको शरीरको तापक्रम जाँच्नुका साथै वैध टिकट भएका व्यक्तिलाई मात्र बिमानस्थलमा प्रवेश गर्न दिइएको छ । टर्कीले घरेलु उडानहरु गत जुन १ तारिखबाटै शुरु गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !