जेरूसेलम, ११ जेठ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचार सम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ । पहिलो दिनको सुनुवाई करिब एक घण्टा भएको इजरायली अधिकारीले बताएका छन् । सुनुवाईका क्रममा नेतन्याहुले आफ्नो पहिचानका बारेमा पुष्टि गर्ने खालका धारणा मात्र राख्नुभएको छ । त्यसपछि अदालतले सुनुवाईलाई स्थगित गरेको थियो ।
इजरायली राजनीतिमा अनुभवी नेता नेतन्याहुको पक्षमा वकालत गर्ने टोलीले प्रमाण समिक्षा गर्नका लागि प्रशस्त समयका लागि अनुरोध गरेका बताइएको छ । अदालतले अर्को सुनुवाईकाको लागि मिति निर्धारण नगरिकन सुनुवाईलाई स्थगित गरेको छ ।
उहाँमाथि पदीय मर्यादा विपरी घुस, धोखावाजी र विश्वासको उल्लङ्घन गरी भ्रष्ट आचार देखाएको आरोप लगाइएको छ ।
करिब एक वर्षको राजनीतिक विवादलाई सल्टाउँदै उहाँ गठबन्धन सरकारको प्रधानमन्त्री बनेको केही दिनपछि भएको सुनुवाईका लागि उहाँ सरकारी सुरक्षा गार्डसहित शानदार तरिकाले अदालत परिसर पुग्नुभएको थियो ।
सुनुवाईका लागि अदालतमा प्रवेश गर्नु पहिले प्रधानमन्त्री नेतन्याहुले भन्नुभयो, “म सुनुवाईका लागि उच्च शीर बनाएर आएको छु । किनकि ममाथि लगाइएका आरोपहरू गलत छन् । जनताले यसको निर्णय मलाई प्रधानमन्त्रीका रूपमा पठाएर दिइसकेको छन् । अदालतले ढिलोचाँडो यसको अनुमोदन गर्नेछ ।”
उहाँले सबै कुरालाई छाँटकाँट वा सम्पादन नगरी प्रत्यक्ष प्रशारण गर्न र सर्वसाधारण नागरिकलाई जानकारी दिन आग्रह गर्नुभएको थियो ।