३ मंसिर २०८१, सोमबार

मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा


ज्योर्तिआदित्य सिन्धिया

भोपाल, मध्य प्रदेश, २७ फागुन । मध्यप्रदेशमा भारतीय काँग्रेसको तर्फबाट लामो समय मध्य प्रदेशमा नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धियाद्वारा मङ्गलबार राजीनामा दिनुभएको छ । सिन्धयाको राजीनामासँगै यस राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका थप छ मन्त्रीले पनि राजीनामा गरेका छन् ।

सिन्धियाले अब अघि बढ्ने समय भएको भन्दै राजीनामाको घोषणा गर्नुभएको छ । निकट मानिने सांसदहरूले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणासँगै उहाँको राजीनामा आएको हो ।

“सुरूदेखि नै मेरो चाहना मध्य प्रदेशका साथै समग्र भारतका जनताको सेवा गर्नु रहेको छ । मेरो विचारमा काँग्रेसमा बसेर यो सम्भव छैन त्यसैले मैले राजिनामा दिएको छु,” उहाँले राजीनामामा भन्नुभएको छ ।

सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेशका २० मन्त्रीले मुख्यमन्त्री कमलनाथलाई राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका काँग्रेस स्रोतले बताएको छ ।

यसअघि सोमबार दिगविजय सिंगसहितका काँग्रेस नेताहरूले भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्य प्रदेशको सरकारलाई ढाल्ने षडयन्त्र गरेको आरोप लगाएका थिए ।

मध्य प्रदेशमा काँग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढेको थियो ।

कांग्रेसबाट राजीनामा दिनुअघि उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी हुनुहुन्थ्यो । उहाँहरूबीच भेटमा के कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन । अब मध्य प्रदेशको कमलनाथ सरकार संकटमा फसेको छ । यसैबीच मुख्यमन्त्री कमलनाथको घरमा कांग्रेसको आपत्कालिन बैठक अहिले बसेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !