४ मंसिर २०८१, मंगलबार

पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु


पाकिस्तान

पेशावर, ५ साउन । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए ।

मृतक र घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा राखिएकोमा त्यहाँ तालिबान समूहमा आबद्ध एक आत्मघाती महिलाले बम बिस्फोट गराउँदा अरु दुई जना प्रहरी र तीन सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुबै आक्रमणको जिम्मेवारी पाकिस्तानमा सक्रिय तालिबान समूहले लिएको छ ।

जिल्ला प्रहरी प्रमुख सलिम रियाजले तालिबानको आक्रमणमा ज्यान गुमाएका दुई प्रहरीको शव अस्पतालबाट बाहिर निकाल्नेक्रममा अस्पतालको प्रवेशद्वारमा अर्को आत्मघाती बिस्फोट गराइएको बताउनुभयो ।

उहाँले भन्नुभयो – करिब २८ वर्षकी आत्मघाती महिला खाली खुट्टामा अस्पताल परिसरमा आएकी थिइन् ।

घाइतेहरुमा आठ जना प्रहरी र पाँच जना सर्वसाधारण रहेका छन् ।

तेहरिक–ए–तालिबान पाकिस्तानका प्रवक्ता मुहम्मद खुरासानीले स्थानीय सञ्चार माध्यममा एक वक्तव्य पठाई घटनाको जिम्मेवारी लिएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ ।

पछिल्ला वर्षमा पाकिस्तानको सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार आएको छ, तर साना स्तरका आक्रमणहरु भने जारी छन् । यी आक्रमणहरु प्रायः उत्तरपश्चिमी तथा अफगानिस्तानसँग सीमा जोडिएका आदिवासी इलाकाहरुमा हुने गरेका छन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !