५ जेष्ठ २०८१, शनिबार

ब्राजिली खानी उद्योगमाथि जरिवाना


Brazil

रियो डे जेनेरियो, २५ असार । ब्राजिलको सर्वाधिक ठूलो भेल नामको खानी उद्योगको बाँध भत्किएर पीडित भएकाहरुका परिवारलाई जरिवाना तिर्न यहाँको एक अदालतले आदेश दिएको छ ।

गत जनवरीमा भएको भिषण दुर्घटनामा २५० जनाभन्दा बढी कामदारको मृत्यु हुनुका साथै भौतिक संरचनामा व्यापक क्षति पुगेको थियो ।

न्यायाधीश एल्टोन पुपो नोगुराले जारी गर्नुभएको आदेशमा भेलले जनधनको क्षतिबापत क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख छ, तर आदेशमा रकम तोकिएको छैन ।

बाँध भत्किएर भएको नोक्सानी स्वरुप मानिसको जीवन मात्र गएको छैन, यसबाट वातावरणीय असरका साथै आर्थिक क्षति पनि समावेश छ, अदालतको आदेशमा भनिएको छ ।

बाँध भत्किएर पुगेको क्षतिका बारेमा कम्पनीका तर्फबाट प्रतिवाद नगरिएको अदालतले जनाएको छ ।

गत जनवरी २५ मा ब्राजिलको मिनास गराइज राज्यको ब्रुमाडिन्होमा भेल कम्पनीको बाँध भत्किएको थियो । बाँध भत्किएपश्चात बगेको लेदो माटोले नजिकका घर, खेत र सडक समेतमा व्यापक क्षति पुगेको थियो ।

उक्त दुर्घटनाका कारण हालसम्म २४८ जनाको शव फेला परिसकेको र अरु २३ जना हराइरहेका छन् ।

दुर्घटना पश्चात् ब्राजिली न्यायिक अधिकारीहरुले भेल कम्पनीको करिब तीन अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रोक्का गरेका छन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !