१५ आश्विन २०८१, मंगलबार

आपराधिक घटनालाई आधा घटाउने अफ्रिकी राष्ट्रपतिको घोषणा


south africa

केप टाउन, ६ असार । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले आगामी एक दशकभित्रै दक्षिण अफ्रिकामा हिंसात्मक अपराधका घटनामा कम्तीमा आधा घटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति रामाफोसाले मङ्गलबार संसदको विशेष सत्रमा सम्बोधन गर्दै सरकारको यस अभियानमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले सामाजिक समस्यासँग जुध्न राष्ट्रव्यापी अभियान नै आवश्यक रहेकामा जोड दिनुभयो ।

राष्ट्रपतिमा गत मे महिनामा पुनः निर्वाचित भएपछि यो उहाँको संसदमा पहिलो सम्बोधन हो ।
दक्षिण अफ्रिकी आधिकारिक विवरण अनुसार सन् २०१७ को अप्रिलदेखि २०१८ को अप्रिलको एक वर्षको अवधिमा अघिल्लो वर्षको तुलनामा व्यक्तिसँग जोडिएका हिंसात्मक घटनामा ५ प्रतिशत वृद्धि भई १६ लाख पुगेको देखिएको छ ।

आपराधिक हिंसाका घटनामा कमी ल्याउन रामाफोसाले प्रहरीको संख्या वृद्धि गरिने बताउनुभयो । उहाँले प्रहरी सेवामा विद्यार्थीहरुलाई सहभागी गराइने, हिंसात्मक घटना न्यूनीकरणका लागि नागरिकको सहभागिता बढाइने, प्रहरी अनुसन्धानको सफलता दर वृद्धि गर्ने तथा अपराधीमाथि कडाईका साथ कारबाही गरिने बताउनुभयो ।

उहाँले महिलामाथि हुने हिंसात्मक घटनामा कमी ल्याउने उपायको खोजी गर्न रणनीतिक योजना ल्याइने तथा उच्चस्तरीय एक परिषद गठन गरिने बताउनुभयो ।

राष्ट्रपति रामाफोसाले लागूऔषधको कारोबारलाई निस्तेज तुल्याउन विशेष कार्यबाही अघि बढाउने पनि घोषणा गर्नुभयो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !