४ मंसिर २०८१, मंगलबार

भारतमा नक्कली मदिरा, छ जनाको ज्यान गयो


दिल्ली

नयाँदिल्ली, १४ जेठ । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना बिरामी भएको प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो ।

रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु भएको जानकारी आएको बताउनुभयो । स्थानीय मिडियाले भने मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको बताएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिइएको जानकारी दिनुभयो ।

सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बंगालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो ।

भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंगाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले बर्सेनि धेरैको ज्यान जाने गरेको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !