एडेन, २ जेठ । यमनी सरकारी फौज र विद्रोही हुथी लडाकूबीच दक्षिणी प्रान्त अल–ढालियामा जारी युद्धमा पाँच सैनिक र सात जना विद्रोहीको मृत्यु भएको सैनिक अधिकारीहरुले जनाएका छन् ।
हुथी विद्रोहीहरु निरन्तर अघि बढेपछि सरकारी सेनासँग भिडन्त भएको हो । नाम बताउन नचाहने एक सैनिक अधिकारीका अनुसार विद्रोही र सेनाबीच घण्टौंसम्म गोली हानाहान भएको थियो ।
अल–ढालिया प्रान्तको क्वाताबा जिल्लालाई नियन्त्रणमा लिन विद्रोही हुथी लडाकूहरु अघि बढेको बताइएको छ । सरकारी सेनाको मद्दतका लागि साउदी–गठबन्धनका सेनाबाट हुथी विरुद्ध हवाई कारबाही पनि गरिएको थियो ।
हुथी विद्रोहीहरुले आफ्ना लडाकाको ज्यान गएपछि तोपबाट गोलाबारी गरेका थिए । सरकारी फौजले पनि विद्रोहीमाथि कारबाही गर्न भारी मेसिनगन क्वाताबा जिल्लामा परिचालन गरेको थियो ।
गत मङ्गलबार अमेरिकी विशेषदूत मार्टिन ग्रिफिथले ढालियामा जारी द्वन्द्वबाट आफू निकै चिन्तित भएको बताउँदै दुबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभएको छ ।
यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । हुथी विद्रोहीले अन्तर्राष्ट्रिय रुपमै मान्यताप्राप्त राष्ट्रपति अब्द–रब्बु मन्सुर हाडीको सरकार अपदस्थ गरी निर्वासित हुन बाध्य पारेलगत्तै गृहयुद्ध चर्किएको हो । (रासस/सिन्ह्वा)