१४ आश्विन २०८१, सोमबार

भारतमा बस दुर्घटनामा दशको मृत्यु, २६ घाइते


दिल्ली

१५ वैशाख, नयाँ दिल्ली । भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

यात्रुबहाक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

शनिबार राति चम्बा जिल्लाको पन्चपुल गाउँमा दुर्घटना भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन् । घटनास्थल हिमाञ्चल प्रदेशको राजधानी शिम्लादेखि ३२७ किलोमिटर टाढा पर्दछ ।

“गतराति यात्रु बोकेको बस पन्चपुल नजिकैबाट झण्डै २०० मिटर तल खस्यो, दुर्घटनामा परी दश जनाको घटनास्थलमै मृत्यु भएको छ,” एक प्रहरी अधिकृतले भने ।

उनले अन्य केही घाइते भएका र उनीहरुको विभिन्न ठाउँमा उपचार भइरहेको पनि जानकारी दिएका छन् ।

प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । दुर्घटनामा परी चालक पनि घाइते भएका छन् ।

हिमाञ्चल प्रदशेका मुख्यमन्त्री जयराम ठाकुरले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति सहानुभुती व्यक्त गर्नुभएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !