३ असार २०८१, आइतबार

प्रधानमन्त्री मोदीद्वारा गुजरातमा मतदान


Narendramodi

१० बैशाख, अहमदाबाद, गुजरात । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको थियो । गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए । मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि प्रधानमन्त्री मोदीसँगै मतदान स्थल पुग्नुभएको थियो । शाह पनि गुजरातको गान्धीनगर निर्वाचन क्षेत्रबाट लोकसभा सदस्यमा उम्मेदवार बन्नुभएको छ । शाहले पनि गुजरातमै मतदान गर्नुभएको थियो ।

प्रधानमन्त्रीले मतदानपछि सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्नुभयो । उहाँले आतङ्कवादीले प्रयोग गर्ने बिस्फोटक पदार्थभन्दा मतदातासँग रहने मतदान परिचयपत्र बढी शक्तिशाली रहेको पनि बताउनुभयो ।

गुजरातका सबै २६ निर्वाचन क्षेत्रमा मङ्गलबार चुनाव हुँदैछ । गुजरातमा ३७१ जना चुनावी मैदानमा छन् । (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !