५ जेष्ठ २०८१, शनिबार

त्रिपोलीमा युद्धविराम भङ्ग, राष्ट्रसंघ प्रमुखद्वारा चासो व्यक्त


Antonio Guterres UN Secretary General

८ असोज, त्रिपोली, लिबिया  । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसद्वारा लिबियाको राजधानी त्रिपोलीमा पटकपटक युद्धविराम भङ्ग गरेकोप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ ।  संयुक्त राष्ट्रसंघको पहलमा केही समय पहिले अर्थात् अगस्ट २६ मा युद्धविराम भएको थियो ।

महासचिवका प्रवक्ता स्टेफन डुजारिकले आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ, “त्रिपोलीमा विभिन्न सशस्त्र समूहलाई समेटेर युद्धविराम गरिएको तर पछिल्ला केही हप्ता यता युद्धविराम भङ्गका घटना बढेकोप्रति राष्ट्रसंघ प्रमुख गुटेर्रेस चिन्तित हुनुहुन्छ ।”

राष्ट्रसंघका विशेष प्रतिनिधि घसन सलामको पहलमा भएको युद्धविरामलाई युद्धरत पक्षद्वारा पूर्णरूपमा पालना गर्न र सर्वसाधारणलाई प्रभावित हुनबाट जोगाउन वक्तब्यमा भनिएको छ ।

आइतबार लिबियाली एक मन्त्रीले गत शुक्रबार दुई शसस्त्र समूहबीच भएको भिडन्तमा १० जनाको मृत्यु भएको बताउनुभएपछि वक्तव्य जारी गरिएको हो । घटनामा सर्वसाधारणसहित ५९ जना घाइते भएका बताइएको छ ।

राष्ट्रसङ्घले युद्धविराम भएको गत अगस्ट २६ पछि त्रिपोलीमा भएका युद्धविराम भङ्गका घटनामा कम्तीमा १०६ जनाको मृत्यु भएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !