९ मंसिर २०८१, आइतबार

कम्बोडियाका विपक्षी नेता जमानतमा छुटे


Cambodia

२५ भदौ, नोमपेन्ह ।  राष्ट्रद्रोहको मुद्दामा एक वर्षदेखि कारागारमा रहेका कम्बोडियाका विपक्षी नेता केम सोखा सोमबार कारगारमुक्त हुनुभएको छ ।

गत जुलाइमा सम्पन्न संसदीय चुनावमा हुन सेनको सत्तारुढ दलले पूर्ण बहुमत ल्याएर विजयी भएपछि विपक्षी नेता कारागारमुक्त हुनुभएको हो ।

कम्बोडियाको विपक्षी दल नेसनल रेस्क्यू पार्टी (सीएनआरपी) का अध्यक्ष केम सोखालाई सेप्टेम्बर ३, २०१७ मा गिरफ्तार गरी राज्यद्रोहको आरोपमा कारागारमा राखिएको थियो ।

विपक्षी नेता सोखामाथिको आरोप राजनीतिक प्रेरित रहेको बताइन्छ । पक्राउ परेको दुई महिना पछि नै सोखाको दल सीएनआरपीलाई अदालतले भङ्ग गरिदिएको थियो ।

विपक्षी दलको विघटन र त्यसका अध्यक्ष पक्राउ परेलगत्तै संसदीय चुनाव गरिएका कारण प्रधानमन्त्री हुन सेनको कम्बोडिया पिपुल्स पार्टीलाई संसदका सबै १२५ स्थान जित्ने अवसर जुरेको थियो । अहिले कम्बोडियामा एकदलीय शासन कायम भएको छ भने हुन सेनको कार्यकाल पाँच वर्ष थप भएको छ ।

कम्बोडियाको दुर्गम स्थानमा रहेको कारागारबाट रिहालगत्तै राजधानी नोमपेन्ह आएका सोखालाई स्वागत गर्न उहाँका समर्थक र सञ्चारकर्मीको राजधानीमा ठूलै भिड लागेको थियो । नोमपेन्हको अदालतले सोखालाई धरौटीमा रिहा गरिएको र देश छाड्न अनुमति नदिइएको जनाएको छ ।

राष्ट्रद्रोहको आरोपमा दोषी ठहरिए सोखाले ३० वर्षको कारागार सजाय पाउनुहुनेछ । उहाँकी छोरी मोनोभिथ्या केमले अदालतको आदेश केही सकारात्मक भएपनि घरमै नजरबन्दजस्तो परिस्थिति रहेको बताउनुभयो ।

कतिपय राजनीतिक समर्थकहरुले केम सोखाको रिहाईले विपक्षीहरुमा आशाको सञ्चार गरेको बताए । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !