२० कार्तिक २०८१, मंगलबार

सरकारी कार्यालयमा रकेट आक्रमण


rocket

६ भदौ, काबुल, अफगानिस्तान ।  अफगानिस्तानको राजधानी काबुल शहरमा रहेका सरकारी कार्यालयमाथि लक्षित गरी रकेट आक्रमण भएका छन् ।

अफगानी गृह मन्त्रालयका प्रवक्ता नाजिब दनेशका अनुसार मङ्गलबार लडाकूको एक समूहले काबुलमा रहेको एउटा भवनमा प्रवेश गरी सरकारी भवनमा आक्रमण शुरु गरेपछि सुरक्षाकर्मीले गरेको प्रत्याक्रमणमा दुई जना विद्रोहीको मृत्यु भएको छ ।

आक्रमणकारीले एक भवनलाई कब्जामा लिई सरकारी भवनमा रकेटमार्फत आक्रमण शुरु गरेका तर पछि सुरक्षाकर्मीले उनीहरूविरुद्ध प्रत्याक्रमण गर्दा सबैजनाको मृत्यु भएको उहाँले सञ्चारकर्मीसँग बताउनुभयो ।

उक्त घटनामा दुई प्रहरी घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

स्थानीय टोलो न्यूजले प्रत्यक्षदर्शीलाई उद्धृत गरी विद्रोही लडाकूले २२ वटा रकेटले आक्रमण गरेको आफूले थाहा पाएको बताएका जनाएको छ । घटनामा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका जनाइएको छ ।

यस पहिले काबुलका प्रहरी प्रवक्ता हस्मत स्तानिकजाईले लडाकूले पोलिस डिस्ट्रिक १० तथा पोलिस डिस्ट्रिक २ मा तीन रकेट हानेको पुष्टी गर्दै आक्रमणबाट कोही पनि प्रभावित नभएको जनाउनुभएको थियो ।

अफगानिस्तानका राष्ट्रपतिले मुसलमानहरूको ठूलो पर्व इदुल आदाको पावन अवसरमा स्थायी शान्तिका लागि सशर्त तीन महिना युद्धविरामको घोषणा गरेको २४ घण्टा वित्न नपाउँदै राजधानी काबुलमा आक्रमण भएको छ । तालिवान समूहले सरकारी आग्रहलाई नमान्ने र सङ्घर्ष जारी राख्ने जनाएको थियो ।

यद्यपि मङ्लबारको आक्रमणको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !