४ असार २०८१, सोमबार

इन्डोनेसिया भूकम्पमा मृत्यु हुनेको संख्या ९८ पुग्यो


INDONESIA-QUAKE

२२ साउन, मताराम, इन्डोनेसिया ।  इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ ।

सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका छन् ।

भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइएको छ ।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतवार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको हो ।

अमेरिकी जियोलोजिकल सर्भेले भने ७.० म्याग्नीच्यूडको भूकम्प गएको बताएको थियो । भूकम्प जमिनको सतहबाट करिब १०.५ किलोमिटर मुनि रहेको थियो ।

इन्डोनेसियाका मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको खतरा नरहेको जनाएको छ ।

त्रसित मानिस रातारात अग्ला सुरक्षित स्थानहरुमा पुगेका थिए । बाली र लोम्बोकको विमानस्थल पूर्ववत रुपमै आइतबार रातिदेखि सञ्चालनमा रहेका छन् ।

भूकम्प आएको आधा घण्टा विमानस्थलमा पनि विद्युत कटौती भएकोले अन्यौल छाएको थियो । भूकम्पबाट प्रभावितहरूलाई राहत तथा उद्धारका कामहरु पनि भइरहेको छ ।

यही क्षेत्रमा गत साता आएको ६.४ म्याग्नीच्यूडको भूकम्पले १६ जनाको मृत्यु हुनुका साथै घरहरु भत्किएका थिए ।

प्रशान्त क्षेत्रीय बेसिनमा अवस्थित इन्डोनेसिया ज्वालामुखी र फल्ट लाइनका कारण भूकम्पको उच्च जोखिममा रहेको छ ।

२००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको ९.१ म्याग्नीच्यूडको भूकम्पले शक्तिशाली सुनामी आएको थियो जसका कारण एक दर्जन तटीय मुलुकका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !