२५ पुस २०८१, बिहीबार

क्यालिफोर्निया डढेलोबाट एक हजार घर नष्ट


California

१७ साउन, लस एन्जलस, संयुक्तराज्य अमेरिका । क्यालिफोर्नियाको जङ्गलको केही भागमा लागेको डढेलो दू्रत गतिमा सहरतर्फ फैलिएपछि एक हजारभन्दा बढी घर जलेर नष्ट भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

डढेलोका कारण विस्थापित केही व्यक्तिलाई घर फर्किन मिल्ने भन्दै सरकारले अनुमति दिए पनि पुनः नयाँ आगलागी सुरु भएको थियो ।

क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पत्रकार सम्मलेनमा आगलागी नियन्त्रण गर्नका लागि आवश्यक स्रोतसाधनको व्यवस्था मिलाइएको बताउनुभएको छ ।

हरेक वर्ष दोहोरिने गरेको आगलागी समस्याको समाधानका लागि अग्नि नियन्त्रकहरुलाई नयाँनयाँ तरिका सिकाइए पनि आगलागीलाई नियन्त्रणमा ल्याउन भइरहेको कठिनाइबाट आफू आश्चर्यचकित भएको ब्राउनले बताउनुभएको छ ।

आगलागी नियन्त्रणका लागि यस वर्ष छुट्याइएको बजेटको एक चौथाई खर्च भइसकेको पनि उहाँले बताउनुभयो । आगलागी नियन्त्रणका लागि करिब १२ करोड ५० लाख अमेरिकी डलर बजेट रहेको ‘क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड प्रोटेक्सन’का प्रवक्ता माइक मोलरले बताउनुभयो ।

क्यालिफोर्नियाका अग्नि नियन्त्रकका अनुसार पुनः सुरु भएको नयाँ आगलागीमा परी गोदाम सहित ४८८ घर नष्ट भएको छ । क्यालिफोर्नियाको इतिहासमा यो छैटौं भीषण आगलागी हो ।

गत जुलाई २३ देखि सुरु भएको यस आगलागीमा परी ६ जनाको मृत्यु भएको र ३८ हजारलाई सुरक्षित स्थानमा सारिएको छ । साथै एक लाख २१ हजार एकड जमीन आगलागीबाट नष्ट भएको बताइएको छ ।  (रासस/एपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !