१० साउन, बेरुत । सिरियाको दक्षिणी क्षेत्रमा बुधबार भएको आत्मघाती हमलामा परी मृत्यु हुनेहरूको संख्या १५० नाघेको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको जानकारीअनुसार दक्षिणी स्वेदा प्रान्तमा भएको घटनामा परी मृत्यु हुनेको संख्या बढेको हो । घटनाका बारेमा इस्लामिक स्टेट (आईएस) ले जिम्मेबारी लिएको छ ।
आक्रमणकारीहरूले तीन वटा आत्मघाती आक्रमणको योजना बनाएको अनुगमनकर्ताहरूले बताएका छन् ।
उनीहरूका अनुसार ती आत्मघाती हमलाहरूमा परी १५६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६२ जना आम नागरिक रहेका छन् ।
पछिल्लो समयमा भएका घटनाहरूमध्ये यो आक्रमण सबैभन्दा ठूलो र दुःखदायी भएको बताइएको छ ।
सिरियाली सरकारको बलियो प्रभाव रहेको दक्षिणी प्रान्त स्वेदामा भएको यस विस्फोटबाट कैयौँ क्षेत्र प्रभावित भएको ‘द सिरियन अब्जरभेटरी अफ ह्युमन राइट्सले जनाएको छ । (रासस/एएफपी)