![MIDEAST-GAZA-AIRSTRIKE](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/07/Gaza-City-e1531638063192.jpg?fit=790%2C542&ssl=1)
३१ असार, जेरुसेलम । हमास लडाकूहरुका विरुद्धमा गाजामा शनिबार शक्तिशाली हमला भएको समाचार छ । यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले यो आक्रमणको पुष्टि गर्नुभएको छ । गाजातर्फबाट इजरायलमा रकेट हानिएको र ती रकेटकहरुको जवाफी आक्रमणका रुपमा यताबाट हमला गरिएको उहाँले बताउनुभएको छ ।
यसका साथै उहाँले आवश्यक परेमा थप कारबाही पनि गरिने जानकारी समेत दिनुभएको बताइएको छ । तर उता प्यालेस्टिनीहरूले भने युद्धविराममा सहमति भएको र आक्रमण स्थगित भएको जनाएका छन् ।
उनीहरुले पहिला गाजातर्फबाट हमला भएको भन्ने समाचारको भने खण्डन गरेका छन् । उनीहरुले युद्धविरामकै समयमा यताबाट हमला नभएको बताएका छन् ।
इजरायलतर्फ प्रहार गरिएका दर्जनौँ रकेटबाट केही व्यक्ति घाइते भएका छन् । त्यहाँ ठूलै हताहतको समाचार भने आएको छैन ।
प्यालेस्टिनी अधिकारीहरूले गएराति गाजा शहरमा गरिएको हवाई आक्रमणबाट केहीको ज्यान गएको बताएका छन् । यससम्बन्धी पूर्ण विवरण भने आइसकेको छैन ।
गाजातर्फ पछिल्ला केही समयमा हिंसा मच्चिएको छ । हमासका विरुद्ध इजरायलका तर्फबाट पनि ठूला हमलाहरु हुने गरेका पछिल्ला समाचारहरुमा जनाइएको छ । (रासस/एएफपी)