काठमाडौं । रुसमा यात्रुवाहक विमान बेपत्ता भएको छ । रुसको चीनसँग सीमा जोडिएको दुर्गम अमुर क्षेत्रको पूर्वी भागमा ४९ जना बोकेको एक रुसी यात्रु विमान हराएको हो ।
रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार, खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा मार्गमा उडिरहेको साइबेरियाकेन्द्रित अंगारा एयरलाइन्सको एन–२४ विमान बेपत्ता भएको हो । ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको हो ।
विमानमा पाँच बालबालिका र ६ चालक दलका सदस्यसहित ४३ जना रहेको खुलेको छ । रोयटर्सका अनुसार आपत्कालीन मन्त्रालयले विमानमा करिब ४० जना सवार रहेको बताएको छ ।
दोस्रोपटक अवतरण प्रयासको क्रममा विमान हराएको समाचारमा उल्लेख छ । विमानले पहिलोपटक टिन्डा विमानस्थलमा गरेको अवतरण प्रयास असफल भएको थियो ।
टिन्डा मस्कोबाट करिब ६ हजार ६०० किलोमिटर पूर्वमा अवस्थित छ । मौसम र भौगोलिक अवस्थाका कारण विमान खोजीमा चुनौती देखिएको छ ।












