२३ पुस २०८१, मंगलबार

गुफामा थुनिएका १३ जनाको उद्धारकार्य शुरु


thailandrescuechildren0307

२४ असार, थाइल्याण्ड । थाइल्याण्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एक जना उनीहरुका प्रशिक्षक सहित १३ जनाको उद्धार कार्य आइतबार पनि विहानैबाट सुरु भएको छ ।

दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई हप्तादेखि फसेका उनीहरुको उद्धार कार्य स्थानीय समय अनुसार आइतबार विहान १० बजे शुरु भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

उद्धारका लागि १३ जना अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिनुभयो ।

उद्धार टोलीमा पाँच जना सेनाको विशेष टोली पनि सहभागी गराइएको उहाँले बताउनुभएको सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ ।

फसेका १२ बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई एक एक गरेर बाहिर निकालिने भएको छ । उनीहरुमध्ये पहिलोलाई आइतबार बिहान काम सुरु गरेको झण्डै एघार घण्टामा गुफाबाट बाहिर निकाली सकिने गभर्नर रायको अनुमान छ ।

उनीहरुलाई बाहिर निकाल्न करिब १०० स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ ।

गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३०० मीटर लामो रहेको उद्धार कार्यमा खटिएकाहरुले जानकारी दिएका छन् ।

ती प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान सक्ने तथा र ती बालकको उद्धार गर्न सजिलो हुने उनीहरुले बताएका छन् ।

यो विधि अपनाउँदा भित्रछिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरुको उद्धार गर्नसक्ने अनुमान गरिएको छ ।

ठूलो सङ्ख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधिको प्रयोगगरी यी चिम्नी निर्माण गरिएको यहाँको सेनाले जानकारी दिएको छ ।

उद्धारकर्ताहरुले सबैभन्दा पहिले एक बालकलाई आइतबारै बेलुका नौ बजेतिर बाहिर निकाल्ने छन् र क्रमशः अरुलाई पनि बाहिर निकालिने छ । अधिकारीहरुले १३ जनालाई नै बाहिर निकाल्न दुई देखि तीन दिन सम्म लाग्ने बताएका छन् ।

“उनीहरु उद्धारका क्रममा आइपर्न सक्ने चुनौतीहरु सामना गर्न तयार भएका छन्, चिकित्सा टोलीले पनि त्यसका लागि आवश्यक तयारी गरेको छ, गभर्नरले भन्नुभयो ।
गुफामा फसेका बालकहरु ११ देखि १६ बर्ष सम्मका रहेका छन् भने उनीहरुका प्रशिक्षक २५ वर्षका छन् ।
उनीहरु गएको जुन २३ देखि गुफामा फसेका हुन् । हराएको दिनदेखि खोजी गरिरहदा नवौँ दिनमा मात्रै उनीहरु भेटिएका थिए । उनीहरुको खोजी तथा उद्धारका लागि एक हजार जना उद्धारकर्ता परिचालन गरिएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !