२ जेष्ठ २०८१, बुधबार

आज कसले सेमिफाइनलमा स्थान सुरक्षित गर्ला ?


2018-Russia-World-Cup

२२ असार, काठमाडौं । फिफा विश्वकप–२०१८ मा दुई मुलुकका टोलीबीच नै प्रतिस्पर्धा हुँदैछ। तर, त्यहाँ दुई विपक्षी टोलीबाट मैदानमा भिड्नेहरु भने आत्मीय मित्रसमेत छन्। एअर्काको खेल बुझेका साथीहरु छन्। त्यसैले कुनै खेलाडीको क्षमता कसैसँग लुक्न सक्दैन। जसले गर्दा विपक्षी योजना बनाउन पनि सजिलो नै हुन्छ।

युरोपेली क्लब फुटबलले सफलताको उचाइँ चढ्दै गर्दा विश्वभरका राम्रा खेलाडी त्यही थुप्रिन थालेका छन्। यसले विश्वभरको फुटबलको शैलीमा नै एकरुपता ल्याइसक्यो। साथै विश्व कपबाट बाहिरिएका टोलीले समेत विपक्षीलाई दह्रै चुनौती दिए।

शुक्रबार राति फ्रान्स र उरुग्वेबीच हुने यस विश्व कप कै पहिलो क्वार्टरफाइनल मित्रहरुको बीचको रोमान्चक भिडन्त बन्ने पक्का भने छ। उरुग्वेका एन्टोनियो ग्रिजम्यान र लुकास हर्नानडेज आफ्नै क्लब एट्लेटिको म्याड्रिडका सहयात्री डियगो गडिन तथा जोस जिमिनेजविरुद्ध भिड्दै छन्।

यस्तै पेरिस सेन्ट जर्मेनका एडिसन काभानी तथा केलियन एम्बापे एकाअर्काविरुद्ध खनिने छन्। यो विश्व कपमा अहिलेसम्म हार नव्यहोरेको तथा प्रतियोगितामा मात्र १ गोल खाएको उरुग्वे थप एक जितसँगै सेमिफाइनलको यात्रा तय गर्न तम्सिएको छ। उता ‘स्टालिस’ तरिकाले अर्जेन्टिनालाई ४–३ ले हराएर आत्मविश्वासी बनेको फ्रान्सको दाउ पनि निर्धारित समयभित्रै उरुग्वेलाई घुँडा टेकाउने हुनेछ।

शुक्रबार राति विश्व फुटबलको महारथी ब्राजिल र बेल्जियम खेल्दैछन् । पाँच पटकको विश्वविजेता ब्राजिल जर्सीमा अर्को अर्थात छैटौं तारा थप्ने ध्याउन्नमा छ भने बेल्जियम पहिलो तारा अंकित गर्ने योजनामा ।

दुवै टिम क्लब फुटबलका हस्तीहरुले भरिएका छन् । यद्यपी, ब्राजिल मुख्यगरि नेइमारको प्रेरणामा छ भने चेल्सीका प्लेमेकर इडेन हाजार्डले बेल्जियमको नेतृत्व गर्नेछन् ।

ब्रजिलसँग नेइमार मात्र होइन गाव्रियल जेसस, फिलिप कोटिन्हो, पाउलिन्हो, विलियन, मार्सेलो, थियागो सिल्भा लगायका विश्वस्तरीय खेलाडीको पल्टनै छ । बेल्जियममा हाजार्डसँगै रोमेलु लुकाकु, मराउन फेलानी, केभिन डि ब्रुयेन, भिन्सेन्ट कोम्पानी, ड्राइज मार्टिन, थोमस भर्मालिज जस्ता खेलाडीको ताँती छ ।

विश्लेषकहरु भन्छन् सन् १९८६ मा सेमिफाइनलसम्म पुगेको बेल्जियम यसपटक उपाधि जित्ने बलियो सम्भावना बोकेर रसिया पुगेको हो । समूह चरणमा उसको प्रदर्शनले त्यो पुष्टि पनि गरेको छ ।

यो बेल्जियम फुटबलको गोल्डेन जेनेरेशन हो । र, यो सुनौलो पुस्ता बेल्जियमलाई पहिलो विश्वकप उपाधि दिलाउने अभियानमा छ । सन् १९८६ मा चौथो भएको बेल्जियम त्यसपछि क्वार्टरफाइनलबाट माथि जान सकेको छैन ।

जापानसँगको अन्तिम १६ को खेलमा २–० ले पछि परेको स्थितिलाई उल्टाउँदै ३–२ को जित निकालेको बेल्जियमले जुनबेला पनि खेलमा फर्किनसक्ने ल्याकत राख्छ । तर ब्राजिलको डिफेन्सको पर्खाल तोड्नु उसका लागि फलामै च्युरा चपाउनु सरह बन्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !