१३ असार , वासिङ्टन । विभिन्न छ मुस्लिम देशसहित आठ देशका नागरिकले अमेरिका प्रवेश गर्न नपाउनेगरी अमेरिकी सर्वाेच्च अदालतले फैसला गरे लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले सो फैसलाको स्वागत गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले ट्वीट गरेर उक्त फैसलाको स्वागत गर्नुभएको हो । यस फैसलाप्रति उहाँले प्रसन्नता व्यक्त गर्नुभएको अमेरिकी सञ्चारले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले यो आफ्नो पुरानो निर्णय मात्र नभएर एक किसीमले भन्ने हो भने राष्ट्रपतीय निर्वाचनको एजेण्डा नै हो भन्दै उक्त निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएकोमा प्रशन्नता व्यक्त गर्नुभएको हो ।
यसअघिका तल्ला अदालतहरूले उक्त आदेश असंवैधानिक भनेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्दै आउनुभएको थियो ।
राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीट अकाउन्टमा अदालतको यस फैसलालाई ठूलो सफलता हो पनि भन्नुभएको छ ।
अहिले पनि ट्रम्प प्रशासन मेक्सिकोबाट गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूका विरुद्धमा कडा रुपमा प्रस्तुत भइरहेको थियो ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पनि संक्षिप्त प्रतिक्रिया दिने क्रममा अदालतको आदेशको स्वागत गर्नुभएको थियो ।
उहाँले सो प्रतिक्रियामा भन्नुभएको थियो– “हामी हाम्रो देशको सुरक्षाको लागि जति कडा हुनुपर्छ त्यति नै हामीले हुन पाउनुपर्छ । आफ्नो देशको सुरक्षा हाम्रो अधिकार र दायित्व हो त्यसैले जसरी हामी सुरक्षित हुन सक्छौँ त्यो मापदण्ड हामीले पूरा गर्न पाउनुपर्छ ।’’ (रासस/एएफपी)