१४ पुस २०८१, आइतबार

उत्तर कोरियाली उच्च अधिकारी बेइजिङमा, बुधबार अमेरिका जाने


North Korea Flag

१६ जेठ, बेइजिङ । उत्तर कोरियाका एकजना जर्नेल तथा त्यहाँको वर्कस् पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल बुधबार चिनियाँ राजधानी बेइजिङ पुगेको समाचार छ ।

अमेरिकाको लागि हिँड्नुभएका उहाँ बुधबार बेइजिङ पुग्नुभएको र यहाँका अधिकारीसँग आवश्यक परामर्श भेट गर्नुभएको बताइएको छ । उहाँले चिनियाँ अधिकारीसँग भेटगरी प्रस्तावित सिंगापुर वार्ताको बारेमा जानकारी गराउनुभएको बताइएको छ ।

आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने तय भएको छ । सोही प्रयोजनका लागि उहाँ त्यसतर्फ लाग्नुभएको हो ।

चीनको राजधानी बेइजिङ्स्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई चिनियाँ अधिकारीले स्वागत गरेका थिए । जर्नेल किम उत्तर कोरियाली नेता किम जोङ उनका विश्वासपात्र पनि हुनुहुन्छ ।

दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले उहाँले चिनियाँ अधिकारीसँग भेटवार्ता गरेको समाचार दिएको छ ।

उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली जर्नेलले अमेरिका र उत्तर कोरियाकाबीच हुनलागेको सो शिखर वार्ताको बारेमा चिनीयाँ अधिकारीसँग परामर्श गर्नुभएको थियो ।

बुधबार नै अमेरिका जाने 

उत्तर कोरियाली अधिकारी किम यसै वार्ताको आवश्यक तयारीका लागि उत्तर कोरियाली नेता किमको विशेषदूतका रुपमा बुधबार अमेरिकाका लागि प्रस्थान गर्नुहुने बताइएको छ ।

प्राप्त समाचारअनुसार उहाँले यस विषयमा चिनियाँ अधिकारीलाई जानकारी गराएर अमेरिकी अधिकारीसँग भेटवार्ताका लागि अमेरिका प्रस्थान गर्नुहुने छ ।

अमेरिकामा रहँदा उहाँले अमेरिकी विदेशमन्त्री माइक पेम्पेओसँग आवश्यक भेट र परामर्श गर्नुहुने छ । सो कुराको जानकारी अमेरिकाले दिएको छ ।

उता आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली अधिकारी चोल अमेरिका आउँदै गरेको बताउनुभएको छ । उहाँले बुधबार ट्वीट गर्दै उत्तर कोरियाली अधिकारी अमेरिका आउँदै गरेको र उहाँ बाटोमै रहेको जानकारी दिनुभएको छ ।  (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !