१५ बैशाख २०८१, शनिबार

सिक्किममा हिमपहिरो : ३ नेपालीसहित ७ जनाको मृत्यु


काठमाडौं । सिक्किममा हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु भएको छ । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा गएको हिमपहिरोमा ३ जना नेपालीसहित ७ जनाको मृत्यु भएको हो ।

सिक्किम सरकारले हिजो एक प्रतिवेदन जारी गरेअनुसार हिमपहिरोमा पुरिएर मृत्यु हुने नेपालीहरुमा चितवनका उमेर नखुलेका शिवप्रसाद लामिछाने र २२ वर्षिया आशिका ढकाल र रुपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहेका छन् ।

उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएको बुझिएको छ । यस्तै अन्य तीन नेपालीहरु ज्योति गुरुङ, गीता सापकोटा र रमेश खनाल घाइते भएकोमा उनीहरुको उपचार भइरहेको छ ।

मृत्यु हुने अन्यमा भारतको कोलकाता, उत्तरप्रदेश र पश्चिम बंगालका रहेका छन् । अन्य मृत्यु हुने चार जना भारतीय नागरिकहरुमा बाल सिंह, रेब्या सिंह, शौरभ रोय चौधरी र पृतम माटे रहेका छन् ।

हिमपहिरोमा परेर १३ जना घाइते भएका छन् । हिजो मंगलबार दिउँसो जवाहरलाल नेहरु सडकअन्तर्गत गान्तोक-नाथुला पासमा हिमपहिरो गएको थियो । हिमपहिरोमा परेका १४ जनालाई उद्धार गरेर अस्पतालमा लगिएकोमध्ये ७ जनाको मृत्यु भएको हो ।

 सिक्किममा हिमपहिरो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !