१३ बैशाख २०८१, बिहिबार

भूकम्पबाट टर्कीमा मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो


टर्कीमा भूकम्प

अङ्कारा । टर्कीको दक्षिणी क्षेत्रमा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्प गएपछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ८०० भन्दा बढी पुगेको छ भने भूकम्पमा परी घाइते हुनेको संख्या १२ हजारभन्दा बढी रहेको जनाइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजीएस) का अनुसार सिरियाको सिमानासँग जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा रहेको गाजियन्टेपमा सोमबार बिहान ४ बजेर १७ मिनेटमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरैको जनधनको क्षति भएको छ । भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ ।

दश घण्टा भित्र तीनवटा शक्तिशाली भूकम्प गएपछि टर्कीमा भूकम्पमा परी दुई हजार ८३४ भवनमा क्षति पुगेको विपद् व्यवस्थापन तथा इएमआरले जनाएको छ । त्यस्तै विपद् व्यवस्थापन प्राधिकरणले खोजी तथा उद्धार कार्य जारी रहेको पनि उल्लेख गरेको छ ।

स्थानीय समय अनुसार बिहान ४:१७ मा तुर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियन्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प र दिउँसो १ः२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

टर्किस रेड क्रिसेन्ट र एएफएडीबाट उद्धार टोलीहरू भूकम्पग्रस्त क्षेत्रमा पठाइएको थियो । प्राधिकरणले नौ हजार ८९६ खोज एवं उद्धार कर्मचारी र २१६ सवारी साधन विपद् प्रभावित क्षेत्रहरूमा पठाइएको बताएको छ ।

टर्की सेनाले पनि इस्तानबुल, अङ्कारा र इज्मिर प्रान्तबाट १८ वटा विमानहरू सहित कर्मचारीहरू पठाएको सैन्य विज्ञप्तिमा उल्लेख गरिएको छ। यसै बीच टर्कीको रक्षा मन्त्रालयले खोज र उद्धार कार्यलाई सक्षम र व्यवस्थित बनाउन विभिन्न स्थानमा हवाई करिडोर स्थापना गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रहरू छाड्न खोजिरहेका मानिसहरू ट्राफिक जामका कारण अलपत्र परेका छन् । टर्किएले भूकम्पपछि स्तर-४ अलार्म जारी गर्दै अन्तरराष्ट्रिय सहायताको आह्वान पनि गरेको छ। राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पपछि करिब ४५ देशबाट तुर्किएलाई सहयोगको प्रस्ताव आएको बताएका छन् ।

यो पनि पढ्नुहोस्

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १,९०० नाघ्यो

टर्कीको दक्षिण क्षेत्रमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !