६ जेष्ठ २०८१, आइतबार

इरानसँगको पारमाणविक सम्झौताबारे मंगलबार निर्णय हुने


US- Neculear

 

एजेन्सी, २५ वैशाख । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मंगलबार साँझसम्ममा निर्णय गर्नुहुने भएको छ ।

उहाँले इरानसँग उक्त सम्झौता कायम रहने या नरहने बारेको निर्णय मंगलबार साँझसम्ममा घोषणा गर्ने जानकारी सोमबारै दिनुभएको थियो ।

उहाँले आफ्नो ट्वीटर अकाउन्टमार्फत भन्नुभएको छ– मैले यस विषयमा मंगलबार साँझसम्ममा घोषणा गर्नेछु । यसअघि उहाँले इरानसँगको सो सम्झौता खारेज गरिने बताउँदै आउनुभएको छ ।

पारमाणविका सम्बन्धका प्रतिबन्धहरु खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा गरिएको भनिएको इरान र विश्वका शक्तिराष्ट्रबीच भएको उक्त अन्तर्राष्ट्रिय सहमतिको राष्ट्रपति ट्रम्पले विरोध गर्दै आउनुभएको छ ।

तर अरु पारमाणविक शक्तिसम्बन्धी सम्झौताका हस्ताक्षरकर्ता बेलायत, फ्रान्स र जर्मनीले भने अमेरिका सो सहमतिबाट पछि हट्न नहुने भन्दै आएका छन् ।

फ्रान्सका विदेशमन्त्रीले सोमबार नै आफूहरू उक्त सम्झौताको पक्षमा नै रहने जानकारी दिनुभएको छ । उहाँले अमेरिकाको निर्णय जेजस्तो आए पनि आफूहरु सहमतिकै पक्षमा रहीरहने स्पष्ट गर्नुभएको छ ।

त्यसैगरी बृटिश विदेशमन्त्रीले पनि उक्त सहमति नतोड्न अमेरिकालाई आग्रह गर्नुभएको छ । हाल वासिङ्टनमा रहेका बृटिश विदेशमन्त्री बोरिस जनसनले अमेरिकी सञ्चारमाध्यमहरुमार्फत सम्झौता खारेज नगर्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

यस सम्झौता नतोड्न अमेरिकालाई सहमत गराउने प्रयासमा युरोपेली देशहरू पनि लागिरहेको बताइएको थियो । तर त्यसको परिणाम भने सकारात्मक नरहने देखिएको बताइन्छ ।

प्राय युरोपेली देशहरुले भने यसै हप्ताको अन्त्यसम्ममा उक्त पारमाणविक सम्झौताबारेमा अमेरिकाको निर्णय आउने अपेक्षा गरिएको थियो ।

तर यस विषयको निर्णय भने मे महिनाको अन्त्यतिर मात्र आउने अपेक्षा गरिएको थियो । सोमबार राष्ट्रपति ट्रम्पले यस विषयमा मंगलबार नै निर्णय गर्ने बताउनुभएका ेहो ।

अमेरिकाले उक्त सहमति खारेज गरे पनि आफूहरु भने उक्त सम्झौतामा अडिग रहने कुरा युरोपेली देशहरुले बताइरहेका बेला इरानले पनि सोही अडान राखेको छ ।

इरानले अमेरिकाले यदि उक्त सम्झौता खारेज ग¥यो भने उसले यसअघि कहिल्यै पनि नसोचेको समस्याको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।  (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !