१३ बैशाख २०८१, बिहिबार

बिल गेट्स विश्वको धनाढ्यको सूचीबाट बाहिरिने, सम्पूर्ण सम्पत्ति दान गर्ने


बिल गेट्स र मेलिण्डा गेट्स

काठमाडौँ । कुनै समय विश्वका सवैभन्दा धनी व्यक्ति रहेका बिल गेट्सले विश्वको धनाढ्यको सूचीबाट बाहिरिने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै माइक्रोसफ्टका सहसंस्थापक बिलले आफ्नो सम्पूर्ण सम्पत्ति दान गर्ने बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘म मेरो लगभग सबै सम्पत्ति फाउण्डेशनलाई दिने योजनामा छु किनकी म भविष्यलाई हेर्दैछु । म तल्लो क्लासको जीवनमा झर्नेछु र अन्ततः विश्वका धनी व्यक्तिहरूको सूचीबाट बाहिर निस्किन्छु ।’

गेट्सले थप लेखेका छन्, ‘जीवन सुधार्नको लागि सबैभन्दा ठूलो प्रभाव पार्ने तरिकामा मेरा स्रोत तथा कमाइहरू समाजमा फिर्ता गर्ने मेरो दायित्व छ । म आशा गर्छु कि ठूलो धन र विशेषाधिकारको पदमा रहेका अरूहरूले पनि यस क्षणमा कदम चाल्नेछन् ।’

अमेरिकी अर्बपति गेट्सले आफ्नो सम्पत्तिको २० अर्ब डलर दानमा खर्चिने भएका छन् । धनाढ्यको सूचीबाट बाहिरिने सोच बनाएका बिलले आफ्नो सम्पतिबाट २० अर्ब डलर रकम आफ्नो परोपकार संस्था बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनमा सार्ने भएका हुन् ।

२० वर्षअघि स्थापना भएको यो संस्था विश्वकै ठूलो दान, परोपकार र समाजसेवामा खर्च गर्ने संस्था हो । उक्त संस्थाले विश्वमा स्वास्थ्य, लैंगिक समानता, शिक्षा र अन्य सामाजिक मुद्दाहरुमा सुधारको लागि आर्थिक सहयोग गर्दै आएको छ ।

यो फाउण्डेशनले कोरोना महामारी र युक्रेनमा जारी युद्ध लगायतका विश्वव्यापी आर्थिक मन्दीको चुनौतीहरू सामना गर्न आफ्नो लगानी बढाउँदैछ । फाउण्डेशनले आफ्नो लगानी प्रत्येक वर्ष लगभग ६ अर्ब डलरबाट बढाएर सन् २०२६ सम्म वा र्षिक ९ अर्ब डलरसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

गेट्स र उनकी पूर्वश्रीमती मेलिण्डा फ्रेन्च गेट्स दुवैले आफ्नो धेरै सम्पत्ति फाउण्डेशनलाई दिने बताएका छन् । गत २०२१ को मे महिनामा यो दम्पतीले सम्बन्धविच्छेद गरेको थियो । सम्बन्धविच्छेद भएपनि संस्थामा दुवैले मिलेर काम गर्ने बताएका थिए ।

धनाढ्यको सूचीबाट बाहिरिन चाहिरहेका बिलले आफू अब सामान्य व्यक्तिमा बदलिन चाहेको उल्लेख गर्दै आफूसंग भएको आर्थिक स्रोतहरुले सबै मानिसहरुको जीवनमा सुधार ल्याउन सकोस् भन्ने आफूले चाहेको स्पष्ट पारेका छन् ।

जीवन चलाउन त पैसा चाहिन्छ नै तर पैसा सबथोक होइन । आजको भौतिक संसारमा अधिकांश मानिसहरु पैसाको पछि दगुरिरहेका छन् । पैसाले भौतिक सुख-सुविधा मात्र दिने हो तर मनको शान्ति कदापी दिन सक्दैन ।

आजको कलियूगमा कतिपय मानिसहरु पुराना समधुर सम्वन्ध तोडेर केवल पैसाको लागि नयाँ सम्वन्ध स्थापित गरेर पनि धेरै दु:खी भएका उदाहरण हाम्रो समाजमा प्रशस्त छन् । आखिर पैसाले मात्र मानिस खुसी र सुखी हुन सक्दैन भन्ने कुरा बिल गेट्सको निर्णयवाट छर्लंग हुन्छ ।

आखिर बिल गेट्सलाई पनि भौतिक संसारबाट बैराग्य आएको हुनसक्छ । हरेक मानिसको जीवनमा आउने उतार-चढावले जस्तै उनलाई निरास तुल्याएको पनि हुनसक्छ । यसअघि विश्वविख्यात एप्पल कम्पनी संस्थापक स्टीभ जब्स पनि निराश भई हताशाको बेगमा बहकिएर भारत आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !