कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेपछि उनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् ।
सभामुखका अनुसार राष्ट्रपति गोटाबाया राजपक्षेले श्रीलंकाको संविधानको अनुच्छेद ३७.१ अनुसार विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएका हुन् । विक्रमासिंघेलाई राष्ट्रपति नियुक्त गरेसँगै देशभर फेरि विरोध प्रदर्शन सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री कार्यालयबाहिर प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने राजधानी कोलम्बोसहितको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ । केही दिनदेखि सबै घोषणा संसद्का सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएको छ ।
यसको साथै पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ । संकटकालका बावजुद हजारौँको संख्यामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा घुस्ने प्रयास गरेका थिए । प्रदर्शनकारीहरूलाई रोक्न सुरक्षाकर्मीले अश्रु ग्याँस चलाउनुपरेको थियो ।
यसअघि राष्ट्रपति राजापाक्षे माल्दिभ्सका लागि आफ्नो श्रीमती र दुई सुरक्षा अधिकारीसहित देशबाट भागेर माल्दिभ्स पुगेको बताइएको थियो ।