३ असार २०८१, आइतबार

भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा


Modi in China

एजेन्सी, १४ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अनौपचारिक भ्रमणका क्रममा चीन पुग्नुभएको छ ।

दुईदिने चीन बसाइका क्रममा मोदीले चिनियाँ राष्ट्रपति सी जीङपिनसँग भेटवार्ता गर्नुहुनेछ । मोदीले शुक्रबार स्थानीय समय अनुसार दिउँसो साढे ३ बजे चिनियाँ राष्ट्रपति सिसँग हुवेइ म्युजियममा भेट्ने तालिका छ ।

२ महिनापछि औपचारिक रुपमा चीन जाने तालिका हुँदाहुँदै आकिस्मिक रुपमा बेइजिङ उत्रिएका मोदी र सिबीच एक्लाएक्लै भेटवार्ता हुनेछ । दुई देशका सरकार प्रमुखबीच दीर्घकालीन र रणनीतिक रुपमा महत्वपूर्ण रहेका विषयमा छलफल हुने विश्लेषण गरिएको छ ।

वान अन वान मिटिङपछि दुवै नेताहरुले दुवै देशका ६÷६ जना सदस्यसहितको टोलीले दुई चरणमा वार्ता गर्ने जनाइएको छ । चिनियाँ राष्ट्रपति सिले मोदीको सम्मानमा रात्रीकालीन खाना अर्थात डिनर आयोजना गर्नुहुनेछ । शनिबार दुवै नेताहरुबीच एक्लाएक्लै अर्थात वान अन वान भेटघाट गर्ने र त्यसपछि सि र मोदीले सँगै डुङ्गा चढेर पोखरी घुम्ने जनाइएको छ ।

यो भ्रमण दुवै देशको तयारी बिनाको अनौपचारिक सम्मेलन भएको जनाइएको छ । सम्मेलनमा पहिले नै योजना बनाएका एजेण्डा नभएकाले कुनै पनि विषयमा छलफल हुनसक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मोदीको भ्रमणको अन्तमा चीन र भारतको द्विपक्षिय सम्बन्ध र विश्वका महत्वपूर्ण विषयहरुमा छलफल हुने जनाइएको छ । चनि भ्रमणमा निस्कनु अघि मोदीले चीन र भारतको विकासका योजनामा पनि छलफल हुने बताएका थिए ।

दुवै देशका नेताको भेटको अन्तमा कुनै औपचारिक घोषणा नहुने खबरमा उल्लेख छ । भेटमा चीन–भारत र भुटानको सीमा क्षेत्र दोक्लामको विषयमा कुरा भए पनि कुनै सहमति भने हुने छैन । दोक्लाम क्षेत्रमा केही समय अघि चीन र भारतबीच विवाद बढेको थियो ।

सिसँगको मोदीको भेटमा पाकिस्तान र चीनबीचको व्यापारिक क्षेत्र र भारत र पाकिस्तानबीचको विवादित क्षेत्र कस्मीरको बारेमा पनि कुराकानी हुने भारतीय सञ्चारमाध्यहरुले बताएका छन् ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले भ्रमण दुई देशबीच आर्थिक उन्नतिका लागि आपसी हातेमालो, बजारको खोजी, लगानी, पर्यटनलगायत क्षेत्रमा साझेदारी गरी नयाँ ढंगले अघि बढ्ने विषय भेटका मुख्य प्राथमिकता हुने उल्लेख गरेको छ ।

चीन र भारत ठूला व्यापारिक साझेदार देश र संसारकै उदीयमान अर्थतन्त्र हुनुको नाताले अवसर र नयाँ व्यापारिक बजारको खोजी गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

सन् २०१७ मा दुई देशको व्यापार २० प्रतिशतभन्दा धेरैले बढेर साढे ८४ बिलियन अमेरिकी डलरको हाराहारी पुगेको छ । जुन अहिलेसम्मकै चीन र भारतबीच भएको व्यापारको सवैभन्दा धेरै रकम भएको चिनियाँ व्यापार मन्त्रालयले जनाएको छ ।

सिन्ह्वाले आपसी व्यापार र लगानीको अथाह सम्भावना भएका दुई देशबीच घनिष्ट शान्तिपूर्ण सहअस्तित्व र दुवैलाई फाइदा पुग्ने खालको सम्बन्ध विकास गर्नुपर्ने उल्लेख गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !