एजेन्सी, ११ वैशाख । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी बनेका छन् । चिरपरिचित प्रतिद्वन्दी रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबलर भएका हुन् ।
सन् २०१७–०१८ को सिजन अर्जेन्टिनाका मेस्सीले १२६ मिलियन युरो कमाइ गर्दै शीर्ष स्थानमा रहेको फ्रान्सको फुटबल म्यागजिनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । मासिक पारिश्रमिक, बोनस, विज्ञापन र प्रायोजन रकमको आधारमा गरिएको विश्लेषणअनुसार मेस्सीले प्रतिमिनेट २५ हजार युरो कमाइ गर्ने गरेका छन् ।
गत सिजनको सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका रोनाल्डोले यो सिजन ९४ मिलियन युरो कमाइ गरेको एएफपीले जनाएको छ । पोर्चुगिज रोनाल्डोले गत सिजन ८७.५ मिलियन युरो र मेस्सीले ७६.५ मिलियन युरो कमाइ गरेका थिए ।
यो सिजन सर्वाधिक कमाइ गर्ने फुटबलरको सूचीको तेस्रो स्थानमा ब्राजिलियन तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार रहेका छन् । नेयमारले ८१.५ मिलियन कमाइ गरेका छन् । त्यस्तै वेल्स तथा रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल ४४ मिलियन युरोसहित चौथो र बार्सिलोनाका स्पेनिस खेलाडी जेर्राड पीके २९ मिलियन युरोसहित पाँचौं स्थानमा रहेका छन् ।
फ्रान्स फुटबल म्यागजिनले निकालेको सर्वाधिक कमाइ गर्ने फुटबल प्रशिक्षक म्यानचेस्टर युनाईटेडका प्रशिक्षक जोजे मोरिन्हो बनेका छन् । गत सिजन पनि शीर्ष स्थानमा रहेका मोरिन्होले २६ मिलियन युरो कमाइ गरेका छन् ।
यस्तै चीनको राष्ट्रिय टोलीका प्रशिक्षण मार्सेलो लिप्पी २३ मिलियन युरोसहित दोस्रो र एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोन २२ मिलियन युरोसहित सर्वाधिक कमाइ गर्ने प्रशिक्षकको सूचीको तेस्रो स्थानमा रहेका छन् ।
२१ मिलियन युरो रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदान चौथो र इन्ग्लिश प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवला २० मिलियन युरोसहित पाँचौं स्थानमा रहेका छन् ।