५ मंसिर २०८१, बुधबार

जिनपिङ र मोदीको भेटपूर्व पाकिस्तानलाई आश्वासन दिँदै चीन


XI Jingping

एजेन्सी, ११ वैशाख ।  चीनले पाकिस्तानसँगको सम्बन्ध अहिलेसम्मकै राम्रो अवस्थामा रहेको बताउँदै हालको स्थायीत्वमा कहिल्यै परवर्तन नआउने आश्वासन दिएको छ । वास्तवमा यसै हप्ता चिनियाँ राष्ट्रपति शि जिनपिङ र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने तय भएपछि त्यसले आफूसँगको सम्बन्धमा अवरोध ल्याउन सक्नेमा पाकिस्तानले चिन्ता व्यक्त गरिरहेको रोयटर्सले जनाएको छ ।

चीन र पाकिस्तान एकअर्कालाई ‘सबै मौसमका साथी’ भनेर बोलाउन मन पराउँछन् । यसरी यी दुवै देशले लामो समयदेखि एकअर्कालाई समर्थन गरी अत्यन्तै नजिकको सम्बन्ध कायम गर्दै आएका छन् जसलाई पाकिस्तानको छिमेकी राष्ट्र भारतले भने खतरा मान्दै शंकालु दृष्टिले हेर्ने गरेको छ । त्यसैकारण आफ्नो शत्रु भारतको षड्यन्त्रमा चीनसँगको सम्बन्ध कमजोर बन्न सक्नेमा पाकिस्तान सधैँ चिन्तित रहने गरेको छ ।

भारत र चीनबीच भने सीमा क्षेत्र लगायत निवार्सित तिब्बति धर्मगुरु दलाइ लामाको मुद्दामा धेरै अघिबाट असहमति र विवाद रहँदै आएको छ । तरपनि प्रधानमन्त्री मोदीले आफ्नो कार्यकाल सुरु भएदेखि लगातार चीनसँगको सम्बन्ध पुनः राम्रो बनाउनतर्फ जोड दिइरहेका छन् । यसै क्रममा उनी शुक्रबार जिङपिङसँग अनौपचारिक भेटवार्ताका लागि बेइजिङ जाँदैछन् ।

त्यसकारण चीनले अहिले पाकिस्तानलाई आफ्नो सहयोगलाई निरन्तरता दिइरहने विश्वास दिलाएको छ । चिनियाँ विदेश मन्त्री वाङ यीले पाकिस्तानका विदेश मन्त्री खावाजा असिफसँग बेइजिङमै भेट गरेपछि चीनले जस्तो सुकै अवस्थामा पनि पाकिस्तानलाई समर्थन गर्न नछाड्ने बताएका हुन् । उनले भने, ‘हामी हाम्रा पाकिस्तानी दाजुभाइसँग सहकार्य गरि दुवै देशलाई समृद्धितर्फ लैजाने सपना पूरा गरि इतिहास रच्नेछौँ । त्यसैले पाकिस्तानसँगको फलामजस्तो सम्बन्धमा कहिल्यै खिया लाग्ने छैन, बरु त्यसको रुप बदलेर ‘स्टील’ बन्नेछ ।’ संचारकर्मीसँगको सो बयानमा वाङले मोदी र जिङपिङको बैठकबारे भने केही उल्लेख नगरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !