८ पुस २०८१, सोमबार

पूर्वी युक्रेनका दुई क्षेत्रमा रुसी फौजलाई प्रवेश गर्न राष्ट्रपति पुटिनले दिए आदेश


भ्लादिमीर पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा लडाकुहरूको नियन्त्रणमा रहेका दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको घोषणा गरेपछि त्यहाँ रुसी फौजलाई प्रवेश गर्न आदेश दिएका छन् । रुसले स्वघोषित लुहान्स्क र दोनेत्स्क जनगणतन्त्रमा आफ्नो फौजले शान्ति सेनाको भूमिका निभाउने जनाएको छ ।

तर, अमेरिकाले उनीहरूलाई ‘शान्ति सेना’को संज्ञा दिइनु वाहियात कुरा भएको भन्दै रुसले युक्रेनसँगको पूर्ण चरणको युद्धका लागि पृष्ठभूमि तयार गरिरहेको आरोप लगाएको छ । लोहान्स्क र दोनेत्स्क दुवै स्थानमा रुस समर्थित लडाकुहरूले सन् २०१४ देखि नै युक्रेनी फौजसँग युद्ध गर्दै आएका हुन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नियतवश नै युक्रेनको सार्वभौमको उल्लंघन गरेको आरोप लगाएका छन् ।

सोमबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले भनेका छन्, “युक्रेनले शान्ति चाहेको छ, तर त्यसको मतलब हामी डराएका छैनौँ भनेर पनि घोषणा गर्छौँ र हामी कसैलाई केही पनि दिँदैनौँ । किभलाई आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूबाट स्पष्ट र प्रभावशाली कार्यगत समर्थन चाहेको छ । को हाम्रा वास्तविक मित्र र साझेदार हुन् र कसले शब्दले मात्र रुस महासंघलाई तर्साउन खोजिरहेका छन् भनेर हेर्नु धेरै महत्त्वपूर्ण छ ।” बीबीसीबाट ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !