एजेन्सी, २६ चैत । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिकै रहेको म्यान्चेष्टर सिटी म्यान्चेष्टर युनाइटेडसँग पराजित भएको छ । गएरातिको खेलमा २ शुन्यको अग्रता जोगाउन नसक्दा सिटी ३–२ ले पराजित भएको हो ।
यो खेल जितेको भए म्यान्चेष्टर सिटीले गएराति नै प्रिमियर लिगको उपाधि जित्ने थियो । भिसेण्ट कम्पनी र इल्काए गुण्डोगानले गोल गरेपछि खेलको ३० मिनेटमै सिटीले २ शुन्यको अग्रता लिएको थियो । तर म्यान्चेष्टर युनाइटेडका लागि पउल बोग्बाले ५३ औं र ५५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याए ।
म्यान यू त्यतिमै रोकिएन, क्रिस स्मालिङले टिमका लागि तेश्रो गोल गर्दै टिमलाई जिताए । नतिजापछि म्यान्चेष्टर सिटीको ३२ खेलबाट ८४ अंक छ भने म्यान यू को ३२ खेलबाटै ७१ अंक भएको छ ।