एजेन्सी, १३ चैत । चाइना कपको उपाधि उरुग्वेले जितेको छ । वेल्सलाई १–० ले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो ।
उरुग्वेका लागि १०० औं खेल खेलिरहेका कभानीको गोल निर्णायक बनेको थियो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिए पनि वेल्सले गोल भने गर्न सकेन ।
पहिलो हाफमा स्वारेजको प्रहार पोस्टमा लागेपछि उरुग्वेले सुरुवाती अग्रता लिने मौका गुमाएको थियो । ४९ औं मिनेटमा कभानीले क्रिष्टियान रोद्रिगेजको पासमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए ।
तेस्रो स्थानको प्लेअफमा चेक गणतन्त्रले चीनलाई ४–१ ले हरायो । चार टोली सम्मेलित प्रतियोगिताको सेमिफाइनलमा वेल्सले चीनलाई ६–० ले हराएको थियो भने उरुग्वेले चेक गणतन्त्रमाथि २–० को जित दर्ता गरेको थियो ।