७ पुस २०८१, आइतबार

काबुलबाट १७ दिनमा एक लाख २० हजारभन्दा बढीको उद्धार गरेको अमेरिकी भनाइ


वासिङ्टन डिसी, अमेरिका । अफगानिस्तानमा उद्धार अभियान अन्तर्गतसुरक्षा खतरा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनितिज्ञलगायत गरी १७ दिनभित्रमा कूल एक लाख २० हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको अमेरिकी राष्ट्रपति जो वाइडेनले बताउनुभएको छ ।

सोमबार अफगानिस्तानबाट २० वर्षे अमेरिकी सैनिक उपस्थिति समाप्त भएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा राष्ट्रपति वाइडेनले उक्त कुरा बताउनुभएको हो ।

तालिवान समूह र अमेरिकाबीच कतारमा भएको सम्झौता अनुरूप अमेरिकाले अगस्ट ३१ भित्र नै अफगानिस्तान छोड्ने बताएको थियो ।

उहाँले भन्नुभयो, “विगत १७ दिनदेखि हाम्रो फौजले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो हवाई उद्धार कार्य सम्पन्न गरेको छ । यो अवधिमा कूल एक लाख २० हजारभन्दा बढी अमेरिकी, हाम्रा सहयोगी राष्ट्रका नागरिक तथा अफगानिस्तान मिसनमा सघाउँदै आएका सहयोगीहरूलाई उद्धार गरेको देखिएको छ । अमेरिकी सैनिकले बेजोड साहस, व्यावसायिकता र कटिबद्धताका साथ यो कार्य सम्पन्न गरेका छन् ।”

“यससँगै अब अफगानिस्तानमा हाम्रो २० वर्षे सैन्य उपस्थिति समाप्त भएको छ,” अमेरिकी राष्ट्रपति वाइडेनले भन्नुभयो । मंगलबार अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनबारे अमेरिकी जनतालाई थप जानकारी गराइने पनि उहाँले बताउनुभयो ।

“यो अमेरिकी सैन्य प्रमुख तथा सबै अधिकारी र कार्यस्थलमा रहेका हाम्रा सबै कमान्डरहरूको सर्वसम्मत सिफारिस थियो ताकि योजनाअनुसार हाम्रो हवाई उद्धार सेवा अन्त्य भएको छ । सैन्य मिशन अन्त गर्नु हाम्रो फौजको जीवन जोगाउने सर्वोत्तम तरिका थियो भने हाम्रो बहिर्गनसँगै अफगानिस्तान छोड्न चाहनेहरूका लागि सर्वसाधारणको प्रस्थानको सम्भावना सुरक्षित राख्नु हाम्रो कर्तव्य थियो ।”

अमेरिकी सैनिक परिचालन को २० वर्षपछि सोमबार पेन्टागनले पनि अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने काम पूरा भएको घोषणा गरेको थियो ।

“म अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने र अमेरिकी नागरिक र अफगानीहरूलाई निकाल्ने सैन्य मिशनको अन्त्यको घोषणा गर्दछु,” अमेरिकी जनरल केनेथ एफ म्याककेन्जीले भन्नुभयो ।

अन्तिम सी–१७ आज अमेरिकी समय अनुसार दिउँसो ३ः२९ बजे हामिद कार्जाई विमानस्थलबाट उडेको थियो ।

“मैले अफगानिस्तान छोड्न चाहने कुनै पनि अमेरिकी, अफगान साझेदार र विदेशी नागरिकहरूका लागि सुरक्षित मार्ग सुनिश्चित गर्न हाम्रा अन्तरराष्ट्रिय साझेदारहरूसँग निरन्तर समन्वयको नेतृत्व गर्न विदेशमन्त्रीसँग आग्रह गरेको छु,” राष्ट्रपति वाइडेनले भन्नुभयो । “यसमा आजै पारित भएको यूएनएससी प्रस्तावना समावेश हुनेछ,” बाइडेनले भन्नुभयो । अमेरिकी राष्ट्रपतिले तालिबानले आगामी सुरक्षित मार्गबारे प्रतिबद्धताहरू गरेका छन् र विश्वले उनीहरूलाई आफ्ना प्रतिबद्धताहरू पूरा गर्न सम्झाइरहने छ ।

“अफगानिस्तानमा चलिरहेको कूटनीतिक पहल जारी राख्न र त्यहाँका जनतालाई मानवीय सहायता छोड्न वा वितरण गर्न चाहनेहरूका लागि निरन्तर प्रस्थान गर्न अनुमति दिन, विमानस्थल पुनः खोल्न त्यस क्षेत्रका साझेदारहरूसँग समन्वय समावेश हुनेछ,” उहाँले थप्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !