८ पुस २०८१, सोमबार

टी–ट्वेन्टीमा बंगलादेशलाई हराउँदै भारत फाइनल प्रवेश


India Vs Bangladesh

एजेन्सी, १ चैत । श्रीलंकामा भैरहेको टी–ट्वेन्टी त्रिकोणात्मक प्रतिस्पर्धामा भारतले बंगलादेशलाई १७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

कोलम्बोमा भएको खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको बंगलादेशले भारतीय ब्याट्सम्यानलाई रोक्न सकेन । अहिलेसम्म भारतीय ओपनर जोडीको राम्रो प्रदर्शन बुधबार पनि देखियो । ओपनरद्वय शिखर धवन तथा रोहित शर्माले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे । १० औँ ओभरमा शिखर धवन २७ बलमा ३५ रन बनाएर आउट भए ।

लगातार खराब फर्ममा रहेका भारतीय कप्तान रोहित शर्मा बुधबार भने खेलमा फर्किए , उनले ६१ बलमा ८९ रन बनाउँदै भारतीय पारीको अन्तिम बलमा आउट हुन पुगे । उनले पाँच चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै सुरेश रैनाले पनि शानदार ब्याटिङ गर्दै ३० बलमा ५ चौका र २ छक्कासहित ४७ रन बनाए । निर्धारित २० ओभरको खेलमा भारतले दुई विकेट गुमाउँदै १७६ रन बनायो ।

१७७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशको सुरुवाति ओभर राम्रो भएन । बंगलादेशले ६१ रनमै आफ्ना सुरुवाति चार विकेट गुमाइसकेको थियो । मुश्फिकुर रहीमले बंगलादेशी पारीलाई सम्हाल्ने प्रयास गरे पनि सफल भएनन् । उनले नटआउट रहँदै ५५ बलमा ८ चौका र एक छक्कासहित ७२ रन बनाए ।

त्यस्तै तमीम इकबालले २७ तथा सब्बीर रहमानले २७ रनको योगदान दिए । बंगलादेशले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन मात्र बनायो ।
भारतका लागि वाशिंगटन सुन्दरले तीन, मोहम्मद सिराज, शार्दुल ठाकुर तथा युजवेन्द्र चहलले एक–एक विकेट लिए ।

हारपश्चात पनि बंगलादेशको फाइनल पुग्ने बाटो भने खुला नै छ । अबको खेलमा बंगलादेशले श्रीलंकालाई हराएमा उ फाइनल पुग्नेछ । यसअघि बंगलादेशले श्रीलंकालाई हराइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !