१२ असार २०८१, बुधबार

इजरायलका विदेश मन्त्री युएइको औपचारिक भ्रमणमा


अबुधाबी । इजरायलका विदेश मन्त्री याइर लापिड औपचारिक भ्रमणका लागि अहिले संयुक्त अरब इमिरेट्स (युएई) मा आउनु भएको छ ।

खाडी मुलुक युएईमा इजरायलको तर्फबाट भएको यो पहिलो उच्चस्तरको भ्रमण भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

इजरायली विदेश मन्त्री लापिड मंगलबार युएई आइपुग्नु भएको हो । उहाँको भ्रमण टोलीमा विदेश मन्त्रालयका महानिर्देशक एलोन उश्पीजसहितका सरकारी उच्च अधिकारीहरु रहेका छन् ।

दुई दिने औपचारिक भ्रमणका क्रममा उहाँले उच्चस्तरीय भेटवार्ता पनि गर्नु हुने विदेश मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणका क्रममा उहाँले युएईको राजधानी अबुधाबीमा स्थापना हुने इजरायली दूतावासको भवनको उद्घाटन समेत गर्नुहुने भएको छ । दूतावाससँगै दुबईको कन्सुलेट समेत सुरुवात गरिने भएको छ ।

येस अटिड पार्टीका नेता समेत रहनु भएका विदेश मन्त्री लापिड हालको इजरायली गठबन्धनको सरकार बनाउने प्रमुख व्यक्ति समेत हुनुहुन्छ ।

इजरायल र युएईले सन् २०२० को सेप्टेम्बरमा अमेरिकी मध्यस्थतामा सम्बन्ध सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !