७ बैशाख २०८१, शुक्रबार

दक्षिण कोरिया र सिंगापुरबीच हवाई यात्रा खोल्ने बारे छलफल


बिमान

सियोल । दक्षिण कोरिया र सिंगापुरका अधिकारीहरुबीच आगामी जुलाईदेखि हवाई सेवा थालनी गर्ने बारेमा छलफल शुरु भएको छ ।
क्वारेन्टिनमा बस्न नपर्ने गरी दुई देशबीच सोझो हवाई उडान गर्ने सम्भावनाका बारेमा छलफल भएको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् । तर यस्तो हवाई यात्रा गर्न चाहने व्यक्तिले अनिवार्य रुपमा खोप लगाएको हुनु पर्नेछ ।
स्वास्थ्य अधिकारीहरुले यस्तै उडान ताइवान, थाइल्यान्ड र अमेरिकाका प्रशान्त क्षेत्रहरु गुवाम र सैपानमा शुरु गर्ने बारेमा कोरियाले प्रस्ताव पठाएका बताएका छन् । यी देशहरुले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि जारी गरेका प्रतिबन्धलाई खुकुलो बनाएकाले पनि हवाई उडान खोल्न लागेको बताइएको छ ।
दक्षिण कोरियाले हाल विदेशबाट आउने अधिकांश यात्रुलाई दुई साताको अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको छ ।
दक्षिण कोरियाका एक जना वरिष्ट स्वास्थ्य अधिकारी यून टाइहोले प्रारम्भमा प्रत्यक्ष उडानबाट आउने तर खोप लगाएका यात्रुलाई प्रवेश दिइने र उनीहरुका बारेमा अनुगमन गर्ने दायित्व ट्राभल एजेन्सीलाई दिइने बताउनुभयो । क्वारेन्टिन बस्न नचाहने यात्रुले आफूले खोप लगाएको प्रमाण पेश गर्नुपर्ने तथा कोभिड–१९ परीक्षणमा नेगेटिभ देखिएको हुनुपर्ने पनि उहाँले जानकारी दिनुभयो ।
तर कोरोनाभाइरसको संक्रमण देखिएका देशसँगको उडान तत्कालै शुरु नहुने पनि उहाँले बताउनुभयो । थाइल्यान्डमा हालैका साताहरुमा निकै ठूलो संख्यामा कोभिड संक्रमण फैलिएको छ र यहाँ दैनिक दुई हजारभन्दा बढी संक्रमित व्यक्ति फेला परेका छन् ।
सिंगापुर र ताइवानमा पनि केही क्षेत्रमा कोभिड संक्रमण देखिएको छ ।
बुधबारसम्म करिब ९२ लाख दक्षिण कोरियालीले कम्तीमा एक डोज खोप लगाएका छन् । यो संख्या कूल जनसंख्याको करिब १८ प्रतिशत हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !