१ मंसिर २०८१, शनिबार

अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने


australia1

क्यानबेरा । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले जुनसम्म लम्ब्याउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले मानव स्वास्थ्यलाई ध्यान दिँदै सीमानाका बन्द गर्ने निर्णयलाई कायमै राख्ने निर्णय भएको मङ्गलबार जानकारी दिनुभयो ।

कोरोनाभाइरसको महामारीका कारण अष्ट्रेलियामा गत वर्ष सन् २०२० को मार्चदेखि सीमानाका बन्द हुँदै आएको छ ।

“अत्यावश्यक बाहेक अन्य आवतजावत तथा ओसारपसार बन्द गर्नु पर्ने बाध्यता अझै पनि कायमै छ,” मन्त्री हन्टले भन्नुभयो ।

अष्ट्रेलिया प्रवेशका लागि विदेशी नागरिकहरुलाई मात्रै प्रतिबन्ध लगाइएको र आफ्ना नागरिकलाई भने कडा मापदण्ड पूरा गरेर आउन पाइने व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

विषेश र अत्यावश्यक कारण बाहेकका अन्य कारणले अष्ट्रेलियाबाट बाहिर जान पनि निरुत्साहित गरिएको सरकारी अधिकारीहरुको भनाइ छ ।

अष्ट्रेलियामा मङ्गलबारसम्म २८ हजार ९८६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ९०९ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !