२० असार २०८१, बिहिबार

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ६६ हजारभन्दा बढी


भारतमा कोरोना संक्रमित

भारत । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड दुई लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २१ हजार ८२२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ६६ हजार ६७४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २९९ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४८ हजार ७३८ जना पुगेको छ ।मन्त्रालयको पछिल्लो विवरणमा ९८ लाख ६० हजार २८० व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ५७ हजार ६६५ सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा मात्र कोरोना सङ्क्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ६७७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र २१ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ५२३ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १७ करोड २० लाख १८ हजार ४९ को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

भारतमा बुधबार एकै दिनमा ११ लाख २७ हजार २४४ जनाको कोरोना भाइरस नमूना परीक्षण भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताउनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !