८ बैशाख २०८१, शनिबार

जो बाइडेन अमेरिकाको ४६ औ राष्ट्रपतिमा निर्वाचित


जो बाइडेन

एजेन्सी, कार्तिक २२ । संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा डेमोक्रैटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन् । बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् ।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो । चुनाव जित्नका लागि महत्त्वपूर्ण मानिएको पेन्सलभेनियाको मतपरिणाम आएसँगै बाइडेनले जितका लागि आवश्यक २७० इलेक्टोरल भोटको आँकडा पार गरेका हुन् ।

अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज (सिट) जित्नुपर्छ । बाइडेनले कुल २७३ सिट निश्चित गरेर जित हासिल गरेका हुन् । बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए । पछिल्लो परिणाम अनुसार नेभेडा, जर्जिया, एरिजोनामा पनि बाइडेनकै अग्रता छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन, अलजजिरा र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा गरेको छ । यो जितसँगै बाइडेन पछिल्ला ३ दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् ।

बाइडेनले आफूलाई अमेरिकी जनताले नेतृत्वको जिम्मेवारी दिएर सम्मानित गरेको लेखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई भोट दिने र नदिने सबै अमेरिकी जनताको राष्ट्रपतिका रूपमा काम गर्ने पनि उनले उल्लेख गरेका छन् ।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि मतदान भएको थियो । यो निर्वाचनमा सन् १९०० पछिका राष्ट्रपति चुनवमा सबैभन्दा बढी मतदान भएको बताइएको छ । राष्ट्रपतिमा विजयी बाइडेनले यो निर्वाचनमा ७ करोडभन्दा बढी भोट प्राप्त गरिसकेको र यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै भोट नपाएको बीबीसीले लेखेको छ ।

रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति ट्रम्पले भने आफूले जितेको भनेर ट्विट गरेका छन् । उनले आफू पराजित भएमा कानुनी लडाइका लागि अदालत जाने चेतावनी दिँदै आएका छन् । ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् । यसले अमेरिकी राष्ट्रपतिको विवाद भने अझै केही समय चल्न सक्ने देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !