वासिङ्टन, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनु भएको छ ।
स्थानीय समय अनुसार बुधबार उहाँले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिनुभएको हो ।
उहाँले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको बताउनुभयो ।
कोरोनाभाइरस विरुद्धको खोप तयार हुदैछ, हामी आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्न सक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ, उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “यसलाई कहिलेदेखि वितरण गर्न सकिनेछ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको छ ।”
उहाँले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने बताउनुभयो ।
आफूले जतिसक्दो चाँडो कोरोना नियन्त्रणका प्रयासहरु गरिरहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याट तर्फका आफ्ना प्रतिस्पर्धीले भने त्यसलाई रोक्न सक्ने आरोप पनि लगाउनु भयो ।
कोरोनाभाइरसबाट अति प्रभावित भएको अमेरिकामा अहिलेसम्म ६६ लाख १६ हजार ४५८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण एक लाख ९६ हजार ४३६ जनाको मृत्यु भएको छ ।