९ पुस २०८१, मंगलबार

ट्रिब्युनले पाँच वटा समाचार कक्ष बन्द गर्ने


ट्रिब्युन

वासिङ्टन, २९ साउन । अमेरिकी पत्रकारितामा निकै प्रतिष्ठित प्रकाशन गृह ट्रिब्युन पब्लिसिङ कम्पनीले आफ्ना पाँच वटा प्रकाशन बन्द गर्ने निर्णय गरेको छ ।

कम्पनीका अनुसार न्यूयोर्कको डेली न्यूज र अन्नापोलिसको दी क्यापिटल गजेट समेत पाँच वटा अखबारको प्रकाशन बन्द हुनेछ ।

तर कोरोनाभाइरसका कारण घरबाटै काम गरिरहेका भन्दै फ्लोरिडाको ओर्लान्डो सेन्टिनेल, पेन्सिलभेनियाका दी मर्निङ कल र मेरिल्यान्डको क्यारोल काउन्टी टाइम्सको प्रकाशन भने यथावत रहने छ । यी अखबारका कामदारलाई कम्तीमा जनवरी २०२१ सम्म घरबाटै काम गर्न भनिएको छ ।

सिकागो मुख्यालय रहेको कम्पनीका प्रवक्ता म्याक्स राइन्स्डोर्फले परिस्थितिमा सुधार आएमा सोही बमोजिम निर्णय हुने जानकारी दिनुभयो ।

कुनै समय देशकै सर्वाधिक बढी बिक्री हुने डेली न्यूज अखबारमा केही वर्षदेखि नै आर्थिक संकट देखापरेको थियो । पछि यो अखबार ट्रिब्युन पब्लिसिङ कम्पनीलाई सन् २०१७ मा १ डलरमा अखबारका संस्थापक मोर्टिमर जुकरम्यानले बिक्री गर्नु भएको थियो ।

ट्रिब्युनले डेली न्यूज खरिद गरेसँगै आधा कर्मचारी कटौती गरिदिएको थियो ।

यस अखबारको न्यूयोर्क प्लाजामा रहेका कार्यालयहरु बुधबारदेखि औपचारिक रुपमा बन्द हुँदैछन् । कर्मचारीलाई आफूसँग रहेका सबै सामान कम्पनीलाई हस्तान्तरण गर्न अक्टोबर ३० सम्मको समयावधि दिइएको छ ।

ट्रिब्युनले हाल सिकागो ट्रिब्युन, दी बाल्टिमोर सन, भर्जिनियाको डेली प्रेस र दी भर्जिनियन–पाइलट तथा हार्टफोर्ड कुरान्ट प्रकाशन गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !