११ पुस २०८१, बिहीबार

मोडर्नाको कोभिड-१९ को खोप परीक्षण अन्तिम चरणमा


कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण सफल

वासिङ्टन, ३१ असार । संयुक्त राज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोभिड-१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ । आगामी जुलाई २७ मा खोप परीक्षण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको छ ।

मोडर्नाले तयार पारेको खोपले यथार्थमा मानिसमा कति प्रभावकारी रुपमा काम गर्नेछ भन्ने परीक्षण हुँदैछ । यसअघि गरिएका परीक्षण निकै सुरक्षित रहेको दाबी गरिको र खोपले मानव शरीरमा एन्डीबडी उत्पादन गरेको थियो ।

आगामी तेस्रो चरणको खोप परीक्षणमा संयुक्तराज्य अमेरिकाकै ३० हजार मानिसलाई सहभागी गराउने लक्ष्य राखिएको छ । यी खोपमध्ये आधाजसो मानिसलाई १०० माइक्रोग्रामको डोज दिइनेछ भने आधालाई प्लासिबो दिइनेछ ।

अनुसन्धाताहरुले खोप लगाइएका व्यक्तिहरुमा खोपको प्रभावकारिता वा असरका बारेमा आगामी दुई वर्षसम्म निगरानी राख्ने कम्पनीले जनाएको छ । कोभिड–१९ बाट भ्याक्सिनले गम्भीर बिरामी हुनबाट मानिसलाई जोगायो भने भ्याक्सिन सफल हुने विश्वास गरिएको छ ।

कम्पनीको यो अध्ययन सन् २०२२ को अक्टोबर २७ सम्म जारी रहनेछ, तर प्रारम्भिक नतिजाहरु यसअघि नै सार्वजनिक गरिनेछ ।

मोडर्नाको भ्याक्सिन परीक्षणको पहिलो चरणबाट प्राप्त नतिजालाई न्यू इङल्यान्ड मेडिसिन जर्नलले प्रकाशन गरेलगत्तै परीक्षण तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको हो । पहिलो चरणमा सहभागी ४५ जना सहभागी सबैको शरीरमा भाइरस विरुद्धको एन्टीबडी तयार भएको देखिएको छ ।

तर वैज्ञानिकहरुले पहिलो भ्याक्सिन सर्वाधिक सुरक्षित वा प्रभावकारी मान्न अहिल्यै नसकिने बताएका छन् । मोडर्नाले पहिलो चरणको परीक्षणको अन्तरिम नतिजा यसअघि नै प्रकाशन गरिसकेको छ । पहिलो चरण भनिएको यस परीक्षणको नतिजा गत मे महिनामा सार्वजनिक गरिएको थियो ।

पहिलो चरणका नतिजाहरु निकै उत्साहजनक रहेको अमेरिकी संक्रामक रोग रोकथाम इन्स्टिच्यूटका निर्देशक एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोभिड–१९ सल्लाहकार एन्थोनी फाउचीले बताउनु भएको छ ।

तर कतिपय वैज्ञानिकहरुले मोडर्नाका तथ्याँकहरुको गहन विश्लेषणपछि मात्र ठोस निष्कर्षमा पुग्न सकिने बताउँदै आएका छन् ।

मोडर्नाले गरेको परीक्षणमा सहभागीहरुलाई २५, १०० र २५० माइक्रोग्रामका भ्याक्सिनका तीन समूहमा बाँडिएको थियो । २८ दिनपछि यही परिमाणमा दोस्रो खोप दिइएको थियो । पहिलो चराण्मा बढी मात्राको डोज दिइएका व्यक्तिमा बढी एन्टीबडी भेटिएको थियो ।

दोस्रो चरणमा सहभागीहरुमा कोभिड-१९ भएका अधिकांश बिरामीभन्दा बढी एन्टीबडी देखिएको थियो । यी बिरामीको शरीरमा आफैं पनि एन्टीबडी तयार भएको थियो । आधाभन्दा बढी सहभागीहरुका शरीरमा सामान्य किसिमको नकारात्मक असर (साइड इफेक्ट) देखिएको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ अमिश अडाल्जाले परीक्षणमा सहभागीमा निकै राम्रो एन्टीबडी तयार हुनु उत्साहजनक कुरा रहेको बताउनुभयो । मोडर्नाले तयार पारेको भ्याक्सिनमा जेनेटिक सामग्रीको प्रयोग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !