९ आश्विन २०८१, बुधबार

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि


जाइर बोल्सोनारो

रियो दि जेनेरो, असार २३ । कोरोना भाइरस (कोभिड-१९) लाई सामान्य फ्लु भन्दै मास्क नलगाउने ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोलाई कोरोना संक्रमण पुष्टि भएको छ । बोल्सोनारोले मंगलबार ब्राजिलियन टेलिभिजनमा बोल्दै यसको जानकारी दिएका हुन् ।

बेस्सरी ज्वरो लगायत कोभिड-१९ का अन्य लक्षण देखिन थालेपछि सोमवार चौथो पटक उनको स्वास्थ परिक्षण गरिएको थियो । उनले पटक पटक भाइरसलाई हल्का रुपमा लिँदै कोरोना भाइरस भनेको केवल साधारण रुघाखोकी भएको र आफुलाई यसले थला पार्न नसक्ने बताउँदै आएका थिए ।

मंगलवार पनि उनले टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफ्नो ज्वरो गायब भएको र आफुलाई निकै आराम महशुस भइरहेको घोषणा गरेका थिए । उनले संचार माध्यमलाई कोरोना भाइरसको सन्त्रास फैलाउने गरेको आरोप समेत लगाउने गरेका थिए ।

सीएनएन ब्राजिलका अनुसार राष्ट्रपतिलाई हाइड्रोसीक्लोरोकिन र एजिथ्रोमाइसिन प्रयोग गरेर उपचार भइरहेको छ । मिडिया रिपोर्टमा उनलाई ज्वरो आएको कुरा छापिएपछि सोमबार राष्ट्रपति भवन बाहिर समर्थकहरुसँग कुराकानी गर्दै आफूले परीक्षण गरेको र फोक्सो सफा रहेको बताएका थिए ।

मास्क लगाएका उनले मानिसहरुलाई आफ्नो नजिक नआउन सुझाव दिएका थिए । सोमबार उनलाई कोभिड-१९ को लक्षण देखिन थालेको र १०० डिग्री फेरेन्हाइट ज्वारो पनि देखिएको समाचार प्रकाशित भएको थियो ।

उनले अर्थतन्त्र प्रभाबित भएको भन्दै क्षेत्रिय गवर्नरहरुलाई लकडाउन हटाउन पनि आब्हान गरेका थिए । सोमवारै मात्र उनले मास्क लगाउनु पर्ने नियम पनि लचिलो बनाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !